पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ, ६ वैशाख । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागको मौसममा फेरबदल आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा समेत हल्का हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ।

यसैगरी, तराईका जिल्लाहरूमा आज गर्मी बढ्ने देखिएको छ। मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज ‘तातो दिन’ हुने सम्भावना रहेकाले बढ्दो गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज राति देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने पहाडी भेगमा आंशिक बदली हुनेछ। तराई क्षेत्रमा भने राति मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना यथावत रहेको छ।

वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन र तराई क्षेत्रका सर्वसाधारणलाई लू (तातो हावा) बाट बच्न महाशाखाले ध्यानाकर्षण गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *