ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न, वैशाख ८ गतेदेखि रथ तानिने

ललितपुर, ६ वैशाख । उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा चिनिने रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार विधिपूर्वक सम्पन्न भएको छ । ‘वर्षा र सहकालका देवता’का रूपमा पुजिने मच्छिन्द्रनाथको मूर्तिलाई शनिबार ललितपुरको पुल्चोकमा तयार पारिएको रथमा विराजमान गराइएको हो ।

गुठी संस्थानका अनुसार मच्छिन्द्रबहालस्थित मन्दिरबाट देवताको मूर्तिलाई खतमा राखेर बाजागाजासहित पुल्चोक पुर्‍याइएको थियो । त्यहाँ पूजाहारीहरू जलपानेजु र खलपानेजुले तान्त्रिक विधिअनुसार विशेष पूजाअर्चना गरेपछि मूर्तिलाई ३२ हात अग्लो रथमा आरोहण गराइएको हो ।

रथ निर्माणको नेतृत्व गर्नुभएका बाराही नाइके प्रेम महर्जनले निर्धारित समयमै रथ निर्माण सम्पन्न गरी रथारोहणको प्रक्रिया पूरा गरिएको जानकारी दिनुभयो । रथारोहण हेर्न पुल्चोक आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा भक्तजनहरूको उपस्थिति रहेको थियो ।

रथारोहण सम्पन्न भएसँगै अब केही दिन रथलाई पुल्चोकमै राखिनेछ । यस वर्षको तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी मात्रै रथ तान्न सुरु गरिने गुठी संस्थानले जनाएको छ । जात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर गाबहाल पुर्‍याउने परम्परा रहेको छ ।

काठमाडौँ उपत्यकाको कृषि र जनजीवनसँग गहिरो सम्बन्ध राख्ने रातो मच्छिन्द्रनाथको यो जात्रा झण्डै एक महिनासम्म ललितपुरका विभिन्न टोलहरूमा रथ घुमाएर मनाइने गरिन्छ ।