सिरहामा हावाहुरीका कारण घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु

काठमाडौँ, वैशाख ६ । मधेस प्रदेशका विभिन्न जिल्लामा शनिबार साँझ आएको भीषण हावाहुरीले जनजीवन प्रभावित पारेको छ । यसै क्रममा सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको दुःखद निधन भएको छ ।

मृत्यु हुनेमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२, मकरामपुर निवासी ६० वर्षीया किसुनवती यादव रहेकी छन् । स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा तीव्र गतिको हावाहुरीका कारण घरको जस्तापाता उडेको थियो । जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर उनी गम्भीर घाइते भएकी थिइन् । चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव परीक्षण (पोस्टमार्टम) का लागि अस्पताल पठाएको छ ।

गए राति मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले ठूलो भौतिक क्षति पुर्‍याएको र जनजीवन कष्टकर बनाएको छ । हावाहुरीबाट भएका अन्य क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।