त्रिभुवन विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याएको साढे ३ किलो सुनसहित ४ उज्बेकिस्तानी नागरिक पक्राउ
काठमाडौं, १५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ३ किलोभन्दा बढी सुनसहित ४ जना उज्बेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ।
गए राति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र १ पुरुषलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो।
उनीहरूले आफ्नो मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
पक्राउ पर्नेहरूमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।