पीएल सिंह मेमोरियल टी-२० कप : अर्जुन कुमालको शतकसँगै पोखरा फाइनलमा : उपाधिका लागि काठमाडौंसँग भिड्ने

काठमाडौँ,  असार १३ । पीएल सिंह मेमोरियल टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा वीरगञ्ज महानगरपालिकालाई ४४ रनले पराजित गर्दै पोखरा महानगरपालिका फाइनलमा प्रवेश गरेको छ । पोखराले अब उपाधिका लागि आजै हुने अन्तिम भिडन्तमा काठमाडौं महानगरपालिकाको सामना गर्नेछ ।

टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा महानगरपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको बलियो योगफल तयार पारेको थियो । पोखराको इनिङ्समा प्रारम्भिक ब्याटर अर्जुन कुमालले उत्कृष्ट शतकीय योगदान दिनुभयो । उहाँले मात्र ६१ बलको सामना गर्दै ११ चौका र ५ छक्काको मद्दतले १०५ रनको विस्फोटक इनिङ्स खेल्नुभयो । त्यस्तै, टोलीका लागि सिब्रिन श्रेष्ठले २२ बलमा ३० रन र सन्दीप खत्री क्षेत्रीले ६ बलमा १४ रन जोड्नुभएको थियो ।

१७८ रनको विजय लक्ष्य पछ्याउँदै मैदान उत्रिएको वीरगञ्ज महानगरपालिका १९.२ ओभरमा १३३ रनमा समेटिन पुग्यो । वीरगञ्जका लागि मयन यादवले २० बलमा ४० रन र अरनिको प्रसाद यादवले २५ बलमा ३२ रन जोड्दै आक्रामक सुरुआत दिलाए पनि मध्यक्रम र तल्लो क्रमका ब्याटरहरू पोखराको कसिलो बलिङसामु टिक्न सकेनन् ।

वीरगञ्जको इनिङ्स ध्वस्त पार्ने क्रममा पोखराका बलर दीपक प्रसाद डुम्रेले घातक बलिङ गर्दै ५ विकेट लिनुभयो । त्यस्तै, अपराजित पौडेलले २ विकेट हात पार्नुभएको थियो ।

अर्जुन कुमालको शतक र दीपक प्रसाद डुम्रेको पञ्चक (५ विकेट) को मद्दतले सहज जित निकाल्दै पोखराले फाइनलको यात्रा तय गरेको हो । प्रतियोगिताको उपाधि भिडन्त आज बेलुका ६ बजे फ्लड लाइट मुनि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिका बीच हुनेछ ।