केप भर्डेको ऐतिहासिक फड्को, अपराजित रहँदै नकआउटमा; अब साविक विजेता अर्जेन्टिनासँग भिड्ने
काठमाडौं । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी भएको अफ्रिकी राष्ट्र केप भर्डेले फुटबल जगतलाई आश्चर्यचकित पार्दै ऐतिहासिक सफलता हात पारेको छ । समूह ‘एच’ मा रहेका विश्वका शक्तिशाली टोलीहरूलाई कडा टक्कर दिँदै केप भर्डे अपराजित रहेर प्रतियोगिताको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको हो ।
शक्तिशाली टोलीहरूलाई बराबरीमा रोक्न सफल
समूह चरणको आफ्नो अन्तिम खेलमा केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्दै अंक बाँडेको थियो । यसअघिका खेलहरूमा पनि केप भर्डेले फुटबलका महारथी टोलीहरू स्पेन र उरुग्वेलाई बराबरीमा रोक्न सफल भएको थियो । तीनवटै खेलमा बराबरी नतिजा निकाल्दै ३ अंक जोडेको केप भर्डे समूह उपविजेताको रूपमा अघिल्लो चरणमा पुगेको हो ।
यसै समूहबाट स्पेन ७ अंक जोड्दै समूह विजेता बन्यो । स्पेनले आफ्नो अन्तिम खेलमा दुई पटकको विश्वविजेता उरुग्वेलाई १–० गोलअन्तरले पराजित गरेपछि उरुग्वे समूह चरणबाटै बाहिरिन बाध्य भएको छ ।
डेब्यु गर्ने चार टोलीमध्ये एक्लो भाग्यमानी
जारी विश्वकपमा चारवटा राष्ट्रले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएका थिए । जसमा केप भर्डे, कुरासाओ, उज्बेकिस्तान र जोर्डन रहेका थिए । यीमध्ये केप भर्डे मात्र नकआउट चरणमा पुग्न सफल भएको छ भने बाँकी तीन टोली समूह चरणबाटै बिदा भएका छन् । केप भर्डेको यो उपलब्धि उसको फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता मानिएको छ ।
अबको चुनौती: अर्जेन्टिनासँगको भिडन्त
ऐतिहासिक सफलतासँगै नकआउट चरणमा पुगेको केप भर्डेले अब ‘राउन्ड अफ ३२’ मा ठूलो चुनौतीको सामना गर्नुपर्नेछ । केप भर्डेले अब अन्तिम १६ मा प्रवेशका लागि साविक विश्वविजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । लियोनल मेसीको कप्तानीमा रहेको बलियो अर्जेन्टिना र जुझारु केप भर्डेबीचको यो खेललाई विश्वभरका फुटबल प्रेमीले निकै चासोका साथ हेर्नेछन् ।
उरुग्वे जस्तो ठूलो टोली बाहिरिएको समूहबाट अपराजित रहेर अघि बढ्नुले केप भर्डेको आत्मविश्वास उच्च देखिएको छ, जसले अर्जेन्टिना विरुद्धको खेलमा पनि कडा प्रतिस्पर्धा दिने अपेक्षा गरिएको छ ।