स्पेन समूह विजेता बन्दै अन्तिम ३२ मा, उरुग्वे विश्वकपबाट बाहिरियो

काठमाडौँ, १३ असार ।

युरोपेली च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को समूह ‘एच’ अन्तर्गत अन्तिम खेलमा उरुग्वेलाई १–० ले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

ग्वाडालाजारामा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनका लागि निर्णायक गोल एलेक्स बाएनाले पहिलो हाफको ४१औँ मिनेटमा गरे। मार्कोस योरेन्तेको पासमा आएको अवसरलाई उनले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। गोल गर्ने क्रममा उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराको गल्ती पनि महँगो सावित भयो।

खेलभर बलमा नियन्त्रण जमाएको स्पेनले थप अवसर सिर्जना गरे पनि अग्रता दोब्बर बनाउन सकेन। उरुग्वेले दोस्रो हाफमा पुनरागमनको प्रयास गरे पनि स्पेनको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन। इन्जुरी समयतिर अगुस्टिन कानोब्बियो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उरुग्वे थप दबाबमा परेको थियो।

यस नतिजासँगै स्पेन तीन खेलबाट सात अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा रह्यो। स्पेनले प्रतियोगितामा एक जित र एक बराबरीपछि अन्तिम खेलमा जित निकाल्दै अपराजित यात्रा कायम राखेको हो।

दुई पटकको विश्व च्याम्पियन उरुग्वे भने तीन खेलमा दुई बराबरी र एक हारसहित केवल दुई अंकमा सीमित रहँदै समूह चरणबाटै बाहिरिएको छ। प्रतियोगितामा एक खेल पनि जित्न नसकेको उरुग्वेको लागि यो अभियान निराशाजनक रह्यो।

यता अर्को खेलमा केप भर्डे र साउदी अरेबियाबीच गोलरहित बराबरी भएपछि केप भर्डे पाँच अंकसहित समूह उपविजेता बन्दै पहिलोपटक विश्वकपको अन्तिम ३२ मा प्रवेश गर्न सफल भयो। स्पेन समूह विजेता र केप भर्डे उपविजेताका रूपमा नकआउट चरणमा पुगेका छन् भने उरुग्वे र साउदी अरेबियाको यात्रा समूह चरणमै टुंगिएको छ।