समयमै मनसुन सक्रिय भएपछि कास्कीमा रोपाइँको चटारो : ४७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न
काठमाडौँ, असार १३ । यस वर्ष समयमै मनसुन सुरु भएपछि कास्की जिल्लामा धान रोपाइँले तीव्रता पाएको छ । अघिल्लो वर्षको तुलनामा करिब एक हप्ताअघि नै वर्षा सुरु भएकाले किसानहरू उत्साहका साथ बेलैमा रोपाइँमा जुटेका हुन् ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार कास्कीमा कुल २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । कार्यालयका कृषि प्रचारप्रसार अधिकृत रामकृष्ण अर्यालले जिल्लाको कुल धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ४७ प्रतिशतमा रोपाइँ सकिएको जानकारी दिनुभयो । विशेषगरी सिँचाइको कुलो लाग्ने र पर्याप्त पानीका स्रोत भएका फाँटहरूमा अधिकांश रोपाइँ भइसकेको छ ।
जिल्लाका प्रमुख धान पकेट क्षेत्रहरू मानिने कुँडहर, शिशुवा, फेवाफाँट, बिरुवा, सार्दीखोला, लाचोक, हेम्जा, सुइँखेत, खुदी, भलाम, बुडुवा, सातमुहाने, देउराली, सुरौदी, अर्मला, आर्वा फाँट, मादीबेसी, मकैखोला र बेगनास तालबेसी लगायतका स्थानमा किसानले रोपाइँ धमाधम गरिरहेका छन् । टारी खेतहरूमा भने अझै पानीका मूल नफुटेकाले केही दिनको लगातार वर्षापछि मात्र रोपाइँ सुरु हुने अर्यालले बताउनुभयो ।
कास्कीमा वार्षिक रूपमा औसत ८५ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । पछिल्लो समय किसानहरू जेठोबुढो, गुर्दी, मन्सरा र अनदी जस्ता रैथाने जातका धानभन्दा बढी उत्पादन दिने उन्नत जातका मनसुली, खुमल, रामधान र सावित्रीतर्फ आकर्षित भएका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुदीप खतिवडाका अनुसार कार्यालयले उन्नत बीउका लागि यस वर्ष आठ लाख रुपैयाँ अनुदानको व्यवस्था गरेको छ । साथै, कृषि औजार, उपकरण वितरण र भण्डारणमा समेत सहयोग पुर्याइँदै आइएको छ ।
पोखरा २४ का किसान जीवन सुवेदीले बेलैमा रोपाइँ गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस वर्ष उत्पादन बढ्ने आशा व्यक्त गर्नुभयो । पछिल्लो समय कृषिमा यान्त्रिकीकरणको प्रयोग बढेको र गोरुको सट्टा ट्याक्टरले खेत जोत्ने गरिएकाले कम समयमै धेरै क्षेत्रफलमा रोपाइँ गर्न सहज भएको उहाँको अनुभव छ ।
यसैबीच, कृषि विकास कार्यालयले रासायनिक मलको सहज उपलब्धताका लागि सहकारीहरूको अनुगमन गरिरहेको जनाएको छ । मलको कालोबजारी रोक्न र वास्तविक मूल्यमा किसानले मल पाउन् भन्ने उद्देश्यले निगरानी बढाइएको कार्यालयले उल्लेख गरेको छ । समयमै मनसुन सुरु भएको र कुनै प्राकृतिक प्रकोप वा रोगव्याधि नलागेमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ ।