सबै नेपाली नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा जोड्नु पर्छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडाैं, १५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य रूपमा स्वास्थ्य बिमामा जोड्नुपर्ने बताउनुभएको छ।
विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग सङ्घले आज ललितपुरमा आयोजना गरेको ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले नागरिकलाई निरोगी बनाउन उपचारात्मक भन्दा निरोधात्मक पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र स्वस्थ जीवनयापनका लागि नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमालाई सरकारले प्राथमिकता दिने उहाँको भनाइ थियो ।
स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औंल्याउँदै मन्त्री पौडेलले मानव स्वास्थ्यका लागि आवश्यक प्रोटिनको सुरक्षाका लागि कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सरोकारवालाहरूलाई सुझाव दिन आग्रह गर्नुभयो। “संवैधानिक व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य बिमा महत्त्वपूर्ण छ, यसले नागरिकको निःशुल्क उपचार सुनिश्चित गर्छ, र प्रोटिन सुरक्षाको विषयलाई पनि यसमा समेट्न सकिन्छ,” उहाँले भन्नुभयो। प्रोटिनलाई उपचारात्मक प्रणाली र चिकित्सकको सिफारिस प्रणालीमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले नेपालका पशुजन्य उत्पादन स्वास्थ्यको दृष्टिकोणले सुरक्षित रहेको जानकारी दिनुभयो।
नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रबिन पुरीले उत्पादनदेखि उपभोगसम्म सुरक्षित खाद्यान्न नीतिको अवधारणा अनुसार खाद्य सुरक्षाका लागि प्रोटिनको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो ।