नेपालको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक फड्को : किष्ट अस्पतालमा पाँच वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
काठमाडौँ, भदौ ४ । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पताल (किष्ट प्रत्यारोपण केन्द्र) ले एक पाँच वर्षीया बालिकाको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरी चिकित्सा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । ३३ वर्षीया आमाले आफ्नी छोरीलाई कलेजोको एक अंश दान गरेर नयाँ जीवन प्रदान गर्नुभएको हो ।
अस्पतालका प्रबन्ध निर्देशक डा. अविषेक थापाका अनुसार ‘विल्सन रोग’का कारण स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेपछि ती बालिकालाई उपचारका लागि किष्ट अस्पताल ल्याइएको थियो । करिब एक महिनासम्म विशेषज्ञ चिकित्सकहरूको सघन निगरानी र उपचारपश्चात् स्वास्थ्य अवस्था स्थिर भएपछि गत भदौ २ गते सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिएको थियो । नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकास र विस्तारका दृष्टिले यसलाई एक विशिष्ट सफलताका रूपमा हेरिएको छ ।
अस्पतालका अध्यक्ष ई. आशिष थापाले निजी क्षेत्रको अस्पतालबाट बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको बताउनुभयो । “यस्तो जटिल उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्यले अस्पतालले दक्ष जनशक्ति, आधुनिक प्रविधि र पूर्वाधारमा निरन्तर लगानी गर्दै आएको छ,” उहाँले भन्नुभयो, “यस सफलताले बालबालिकाका लागि थप विशेषज्ञ सेवा विस्तार गर्न हामीलाई थप हौसला मिलेको छ ।”
बाल कलेजो प्रत्यारोपण अत्यन्तै चुनौतीपूर्ण र जटिल चिकित्सा प्रक्रिया मानिन्छ । यसका लागि अनुभवी शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, एनेस्थेसियोलोजिष्ट, बालरोग विशेषज्ञ र सघन उपचार टोलीको समन्वयात्मक भूमिका आवश्यक हुन्छ । किष्ट प्रत्यारोपण केन्द्रको बहुविशेषज्ञ टोलीले आपसी समन्वयमार्फत यो सफल नतिजा निकाल्न सफल भएको हो ।
प्रबन्ध निर्देशक डा. थापाले आगामी दिनमा किष्ट अस्पताललाई बालबालिकाका लागि ‘बहु-विशेषज्ञ उपचार केन्द्र’का रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अस्पतालका मिडिया कन्सल्टेन्ट राजकुमार सिल्वालका अनुसार आमाको त्याग, चिकित्सकको समर्पण र आधुनिक चिकित्सा पद्धतिको संयोजनले नै बालिकाको जीवन रक्षा सम्भव भएको हो ।
यस सफल प्रत्यारोपणसँगै नेपालमा जटिल स्वास्थ्य समस्या भएका बालबालिकाले स्वदेशमै भरपर्दो र गुणस्तरीय विशेषज्ञ सेवा पाउने मार्ग प्रशस्त भएको विश्वास गरिएको छ ।