ट्रम्पसँग दाजुको कुराकानी भएकोबारे मलाई केही थाहा छैन: किम यो जोङ

 

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच हालै कुनै संवाद भएकोबारे आफू ‘पूर्णतः अनभिज्ञ’ रहेको बताएकी छिन् ।

राष्ट्रपति ट्रम्पले यसै साता किम जोङ उनसँग आफ्नो सम्पर्क भएको दाबी गरेका थिए । त्यसको जवाफ दिँदै बुधबार उत्तर कोरियाली सरकारी सञ्चारमाध्यममार्फत जारी विज्ञप्तिमा किम यो जोङले भनिन्, “मेरा दाजु र ट्रम्पबीच व्यक्तिगत रूपमा राम्रो सम्बन्ध र सम्झनाहरू छन्, तर हालै कुनै कुराकानी भएको बारे मलाई केही जानकारी छैन । हाम्रो नेतृत्वको विदेश नीतिबारे मलाई थाहा नभएको यो नै पहिलो विषय हुन सक्छ ।”

ट्रम्पले सोमबार सञ्चारकर्मीहरूसँग बोल्दै दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन आफूले गरेको प्रस्तावमा किमले सकारात्मक जवाफ दिएको बताएका थिए । ट्रम्पले यसै वर्ष किमलाई भेट्ने इच्छा समेत व्यक्त गरेका छन् ।

यसैबीच, दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले ट्रम्पको सैन्य अभ्यास घटाउने निर्णयको स्वागत गरेका छन् । उनले दक्षिण कोरियाको रक्षा खर्च कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३.५ प्रतिशत पुर्‍याउने र आफ्नो सुरक्षाको जिम्मेवारी आफैँ लिने ट्रम्पको योजनामा सहमति जनाएका छन् ।

अमेरिकाले दक्षिण कोरियासँगको १० दिने सैन्य अभ्यासलाई यसपटक ५ दिनमा सीमित गरेको छ । तर, किम यो जोङले सैन्य अभ्यासको अवधि घटाउँदैमा अमेरिकाको आक्रामक चरित्र नबदलिने र यसलाई ‘सद्भावना’ को रूपमा लिन नसकिने स्पष्ट पारेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *