अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच पुनः भेटवार्ताको सम्भावना

एजेन्सी, ४ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्षको अन्त्यतिर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनसँग पुनः भेटवार्ता गर्ने सम्भावना व्यक्त गर्नुभएको छ। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले किमसँगको प्रत्यक्ष संवाद विश्वव्यापी सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण हुने बताउनुभयो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘वाल स्ट्रिट जर्नल’का अनुसार राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा चीनको शेन्जेनमा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा उत्तर कोरियाली नेता किमसँग भेटघाट गर्ने सम्भावित विकल्पहरूमाथि छलफल गरिरहनुभएको छ। ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा किमसँग तीन पटक ऐतिहासिक भेटवार्ता गर्नुभएको थियो, जसमध्ये दुई नेताबीचको अन्तिम प्रत्यक्ष संवाद सन् २०१९ मा भएको थियो।

नयाँ कूटनीतिक प्रयासहरूबारे बोल्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग हाल करिब ५७ वटा शक्तिशाली आणविक हतियार तयारी अवस्थामा रहेको बताउनुभयो। यद्यपि, दक्षिण कोरियाका रक्षामन्त्री अहन ग्यु–ब्याकले प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार रहेको दक्षिण कोरियाको अनुमान रहेको उल्लेख गर्नुभएको छ। अमेरिकाले उत्तर कोरियालाई औपचारिक रूपमा आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता नदिए पनि उसका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको छ। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग स्थायी शान्ति स्थापना गर्ने ट्रम्पको प्रयासमा दक्षिण कोरिया सहयोगी बन्ने स्पष्ट पार्नुभएको छ।

उत्तर कोरियाली नेताकी बहिनी किम यो जोङले आफ्ना दाजु र राष्ट्रपति ट्रम्पबीच हाल कुनै कूटनीतिक संवाद भइरहेकोबारे आधिकारिक जानकारी नभए पनि दुई नेताबीचको व्यक्तिगत सम्बन्ध अझै उत्कृष्ट रहेको बताउनुभएको छ।

दक्षिण कोरिया र अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास ‘उल्ची फ्रिडम सिल्ड’ को अवधि पूर्वनिर्धारित समयभन्दा करिब एक साताअघि नै समाप्त गर्ने घोषणा गरेपछि उहाँको यस्तो भनाइ सार्वजनिक भएको हो। उत्तर कोरियाले यी संयुक्त सैन्य अभ्यासहरूलाई आफ्नो मुलुकमाथिको सम्भावित आक्रमणको तयारीका रूपमा हेर्दै कडा विरोध गर्दै आएको छ।

हाल दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ छन्। यस पृष्ठभूमिमा ट्रम्पको किमसँग पुनः भेटवार्ता गर्ने तयारी र संयुक्त सैन्य अभ्यासको अवधि छोट्ट्याउने निर्णयलाई दुई देशबीचको सम्बन्धमा नयाँ कूटनीतिक पहलको सङ्केतका रूपमा हेरिएको छ।