फोटो पत्रकार अनिलको पहिलो पुस्तकमा खोकनाको सङ्घर्षको चर्चा

काठमाडौँ, १६ फागुन । फोटो पत्रकार अनिल रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दि स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्क्रोचमेन्ट’ पुस्तक शुक्रबार विमोचन गरिएको छ । ललितपुर महानगरापलिकाका मेयर चिरिबाबु महर्जनले सो पुस्तकको विमोचन गरे । पाटन सङ्ग्रहालमा लोकार्पण गरिएको पुस्तक नेपाली, नेपाल भाषा र अङ्ग्रेजी गरी तीन भाषामा लेखिएको छ । अमेरिकाका मेरिल्यान्डमा कर्मभूमि बनाएका रञ्जितको यो पहिलो पुस्तक हो ।

मेयर महर्जनले सम्पदाप्रेमीहरुका लागि यो पुस्तक अमूल्य दस्तावेज हो भनेका छन् ।उहाँले खोनासहित बुंग र सुनाकोठीलाई सांस्कृतिक नगर घोषणा गर्न प्रस्ताव गरिसकेको जानकारी पनि दिए । मेयर महर्जनलेसम्पदा सम्बन्धमा ललितपुर महानगरपालिकाले जिरो टोलरेन्सको नीति अपनाएको पनि बताए ।

खोना काठमाडौँ उपत्यकाको एैतिहासिक रुपमा समृद्ध नेवाः गाउँ हो । यद्यपि अहिले खोकनाबासी आफ्नो सांस्कृतिक धरोहरलाई बचाउन सङघर्ष गर्दैछ । यो ऐतिहासिक ठाउँलाई काठमाडौँ–तराई एक्सप्रेसवे(फास्ट ट्रयाक) जस्ता परियोजनाले पनि गम्भीर प्रभाव पारेको छ ।

लेखक रञ्जितले खोकनाका यिनै विविध विषयलाई लएर करीब पाँच वर्षको अध्ययनपछि यो पुस्तक तयार पारेका हुन् । रञ्जितका अनुसार यस पुस्तकमा खोनाको सांस्कृतिक पक्षलाई मात्र नभई ‘दमन’ र ‘हाखः’ जस्ता सामुदायिक आन्दोलन र असार २० धान रोपाईँ प्रतीकात्मक विरोध जस्ता विरोध प्रदर्शनको घटनालाई पनि उजागर गर्ने प्रयास गरिएको छ । खोनाको सङ्घर्षलाई, यसको पहिचान, शहरी अतिक्रमण, कृष्ण ह्रास, सिकाली पर्वमा सहभागिता, आफ्नो भूमिको दोहनविरुद्धको विरोध प्रदर्शनलाई पनि समेटिएको छ ।

सो कार्यक्रममा वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपालमा आदिवास समुदायले भोगेका व्यापक समस्याबारे जनचेतना जगाउने प्रयास यस पुस्तकमार्फत् गरिएको भनाई राखे ।