सर्वोकृष्ट महिला फुटबलर घोषित प्रितीलाई एक लाख पुरस्कार

काठमाडौँ, १७ फागुन । योङ स्टार फाउण्डेसनले शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राईले सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्रदान गरेको छ । प्रिति एक लाख लाख रुपियाँसहित सम्मानित भएकी हुन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा भएको कार्यक्रममा योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहनचन्द्र सिंह र पूर्व खेलाडी ललितविक्रम शाहले प्रीतिलाई सम्मान र अवार्ड प्रदान गरे । यो सम्मान कार्यक्रम आगामी वर्षहरुमा पनि निरन्तर हुने बताइएको छ ।
प्रितीले सम्मानित भएपछि आफ्नो फुटबल यात्रामा सही समयमा सही मार्गदर्शकहरु पाउँदा आफूलाई धेरै भाग्यमानी सम्झन्छु, भनिन् । प्रिती भन्छिन्– महिला फुटबलका लागि अहिले सरकार र एन्फा एकदम सकारात्मक रहेको छ । जुन महिला फुटबलरहरुका लागि खुशीको कुरा हो ।
यसैगरी योङ स्टार फाउण्डेसनका अध्यक्ष सिंहले नेपाली फुटबल खेलाडीले अहिले जसरी उत्कृष्ट खेलिरहेको छ, उनीहरुलाई थप हौसला दिलाउन यो सम्मान कार्यक्रमको परिकल्पना गरिएको जानकारी गराए ।
नेपाली महिला फुटबल टिमकी पहिलो कप्तान रमा सिंहले खेलकुदका हरेक क्षेत्र राजनीतिकरण हुँदै गयो भने भोलिदेखि प्रिती, सावित्रा जन्मने छैन, त्यसैले खेलकुदलाई राजनीतिबाट पर राखौँ भन्ने भनाई राखिन् । यसैगरी एन्फा महिला संघकी अध्यक्ष पेमा डोल्मा लामाले इलाममा फागुन १७ गते देख अन्तर्राष्ट्रिय महिला गोल्डकप हुन गइरहेको र त्यहाँ पनि महिला फुटबललाई हौसला बढाउन अनुरोध गरेकी छन् ।