वैशाखमा काठमाडौँमा नेपाल बिजनेस समिट हुने

काठमाडौँ,२२ फागुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर अफ कमर्श र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) को आयोजनामा काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको बिजनेस समिट हुने भएको छ।

‘दिगो र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने नाराका साथ दोस्रो संस्करणको नेपाल बिजनेस समिट आगामी वैशाख ७ गते आयोजना हुने नेपाल चेम्बर अफ कमर्शले जनाएको छ। उद्योग व्यवसाय लगायत समग्र अर्थतन्त्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थितिमा पहिलो संस्करणको समिट पनि काठमाडौँमै सम्पन्न भएको थियो।

एनबिआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटीका संयोजक विशाल गैरेका अनुसार समिटमा सङ्घीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङ क्षेत्रका ज्ञाता, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रसम्बद्ध अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक तथा उच्च अधिकारी, उद्योगी व्यवसायी, नवप्रवर्द्धनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केका उद्यमशील जनशक्ति तथा विद्यार्थीसहित पाँच सयभन्दा बढीको सहभागिता रहनेछ ।

संयोजक गैरेका अनुसार नीति निर्माण तहका सरकारी अधिकारीहरू, उद्योग व्यवसायसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि, औद्योगिक घराना, प्राज्ञिक व्यक्तित्व, युवा तथा महिला उद्यमीबीच छलफल, बहस तथा अन्तरक्रिया गरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहयोग पुर्‍याउने उद्देश्यले समिट आयोजना गर्न लागिएको हो। नेपाल चेम्बर अफ कमर्शसँगको सहकार्यमा हुन लागेको समिटबाट प्राप्त निष्कर्षसहितको सुझाव प्रतिवेदन तीनै तहका सरकारसमक्ष पेस गर्ने र सुझाव कार्यान्वयनका बारेमा निरन्तर अनुगमन गरिनेछ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले आर्थिक मन्दीका कारण प्रभावित निजी क्षेत्रलाई उत्साहित बनाउने उद्देश्यले आर्थिक, बैंकिङ, उद्योग, व्यवसाय, सूचना प्रविधि, कृषिलगायतका व्यावसायिक क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा छलफल गरी प्राप्त सुझाव प्रतिवेदन सरोकारवाला सरकारी निकायमा पेश गरिने बताउनुभयो।

एनबिआईका कार्यकारी अध्यक्ष गैरेले दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतबीचको गतिशील साँघु बनाइ आन्तरिक तथा बाह्य लगानीलाई आकर्षित गर्दै दिगो बैंकिङ विकासमार्फत औद्योगिकरण, कृषि, पर्यटन, जलविद्युत्, वन पैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्वउद्यमशीलता तथा स्टार्टअप व्यवसाय लगायतका क्षेत्रमा लगानी विस्तारसहित दिगो आर्थिक विकासका लागि समिट महत्वपूर्ण हुने बताउनुभयो।