बी डिभिजन लिगको तयारी पूरा

काठमाडौं, २३ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक बी डिभिजन लिगको तयारी पूरा भएको जनाएको छ । एन्फाले शुक्रबार पत्रकार सम्मेलन गरी बी डिभिजन लिग फागुन २५ देखि २०८२ साल जेठ २५ गतेसम्म हुने जानकारी दियो ।
बी डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड व्वाइज क्लब, व्वाइज यूनियन क्लब, मध्यपुर युथ क्लव, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बांसवारी क्लब, नयाँ वस्ती युथ क्लब, सरस्वती यूथ क्लब, वीरगञ्ज युनाइटेड क्लव, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड गरी १४ टिम रहेका छन् ।
सिंगल राउन्ड रोबिनका आधारमा हुने लिगमा कुल ९१ खेल सञ्चालन हुनेछन् । प्रतियोयगता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ ।
बी डिभिजन लिगको विजेताले १५ लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १० लाख र तेस्रो हुनेले ५ लाख पाउनेछन् । फेयर प्ले टिम र उत्कृष्ट खेलाडीले १–१ लाख हात पार्नेछ । उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार पाउनेछन् भने हरेक खेलको प्लेअर अफ दि म्याचले ७ हजार ५०० पाउनेछ । यसैगरी हरेक खेलको उपविजेता टोलीले थप २५ हजार पाउनेछ भने बराबरी भए दुवै टिमले १०–१० हजार पाउनेछ । यसैगरी एन्फाले प्रत्येक क्लबलाई तयारीस्वरीप १५ लाख ५० हजार रुपियाँ प्रदान गरेको छ ।
एन्फा प्रवक्ता सुरेश शाहले लिगको कूल बजेट ३ करोड, ९३ लाख १ हजार ८१४ रुपिया रहेको जानकारी दिएका छन् ।