साताको पहिलो दिन नै शेयरबजारमा पहिरो, कारोबार रकममा भने वृद्धि
काठमाडौँ, १० चैत । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो पाँच कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ८.३७ अंक, फ्लोट इण्डेक्स ३.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८६ अंकले घटेका छन्।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। बिहीबार ४ अर्ब ५० करोडको शेयर कारोबार भएको बजारमा आज ३१७ स्टकको ७२ हजार २६५ पटकको कारोबारमा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड २३ लाख ७१ हजार कित्ता शेयर किनबेच भएको छ।
आज मूल्य बढेका स्टकहरूको वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयर मूल्य १७८ रुपैयाँ २० पैसाले घटेर १ हजार ६०३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४२ करोड ६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३६ करोड र नेपाल पुनर्बीमा कम्पनीको करिब ३५ करोडको शेयर कारोबार भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशतले घटेको छ।