तीन महिनापछि भोजपुरमा उडान पुनः सुरु

भोजपुर, १२ चैत । बन्द भएको तीन महिनापछि भोजपुर विमानस्थलमा उडान पुनः सुरु भएको छ।

भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि नियमित उडान थालेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिए। अब नयाँ तालिका अनुसार उडान हुने उनले बताए।

२०३५ सालदेखि सञ्चालनमा आएको यो विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आएको छ। पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएका कारण अन्य जहाजले उडान भर्दैनन्। उडान बन्द हुँदा बिरामी र यात्रुहरूलाई समस्या भएको थियो।

निगमका दुईवटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ।