सरकारी कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य, १५/१५ दिनमा प्रमाणित गर्नुपर्ने

काठमाडौँ, १० वैशाख । सरकारले देशभरका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूका लागि विद्युतीय हाजिरी (ई–हाजिरी) अनिवार्य गर्न निर्देशन दिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग, अन्य निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारी उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार, हालसम्म यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन नभएका कार्यालयहरूले पनि तत्कालै कर्मचारीको दैनिक उपस्थिति (कार्यालय आएको र गएको समय) को विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीमार्फत नै राख्ने व्यवस्था मिलाउनुपर्नेछ।

त्यसैगरी, विद्युतीय मेसिन वा प्रणालीमा रेकर्ड भएको हाजिरी विवरणलाई प्रत्येक १५/१५ दिनमा प्रिन्ट गरी सम्बन्धित अधिकारीबाट प्रमाणित गराएर कार्यालयमा सुरक्षित राख्नसमेत मन्त्रालयले परिपत्र गरेको छ। कार्यालयको कामकारबाही र कर्मचारीको उपस्थितिमा थप पारदर्शिता ल्याउन सरकारले यस्तो व्यवस्था गरेको हो।