नेपाल सुपर लिग (एनएसएल)

ललितपुरविरुद्ध काठमाडौँको उत्कृष्ट पुनरागमन

काठमाडौँ, १६ चैत । तेस्रो नेपाल सुपर लिग (एनएसएल)मा पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्सले शनिबार गत विजेता ललितपुर सिटी एफसीलाई उत्कृष्ट पुनरागमनसहित २–२ ले बराबरीमा रोकेको छ ।

दशरथ रङगशालामा काठमाडौँ दुई गोलले पछाडि परेर खेल बराबर गरेको हो । ललितपुरले खेलको पाँचौँ मिनेटमै विदेशी खेलाडी जोनाथन कान्टिलानाको क्रसलाई विफल पार्ने क्रममा कमल श्रेष्ठले आफ्नै गोलपोस्टमा बल छिराएपछि काठमाडौँ पछाडि परेको थियो । खेलको १५ औँ मिनेटमा आदित्य शाक्यले ललितपुरको अग्रता दोब्बर पारे । इमोह इजिकेलले उपलब्ध गराइदिएको पासमा गोलपोस्ट नजिक रहेका आदित्यले गोल गरेका हुन् ।

खेलको ७५ औँ मिनेटमा आमाडोउ डियोपले स्कोर २–१ पारे । जिलेस्पी जङग कार्की मैदानको बायाँ भागबाट गरेको क्रसमा डिबक्सभित्र रहेका डियोपले शानदार गोल गरेका हुन् । इन्जुरी समयमा काठमाडौँले भिन्सेन्टको पेनाल्टी गोलबाट बराबरी गोल गर्यो । फ्रान्सका भिन्सेन्टले नै पेनाल्टीमा आप्mनै देशका गोलरक्षक बाल्टसविरुद्धको पेनाल्टीमा गोल गरी खेल बराबर गर्नुभयो । ललितपुरका योगेश गुरुङले डिबक्समा भिन्सेन्टलाई लडाएप्छि काठमाडौँले पेनाल्टी पाएको थियो ।