चितवनलाई पहिलो हारको स्वाद चखाएर ललितपुर सिटी शीर्ष स्थानमा
काठमाडौँ, २८ चैत । नेपाल सुपर लिग (एनएसएल)मा उपाधि रक्षा अभियानमा रहेको ललितपुर सिटी एफसीले बिहिबार चितवन एफसीलाई २–१ हराएको छ । यस नतिजासँगै ललितपुर सिटी अङक तालिकाको शीर्ष स्थानमा उक्लियो । चितवन हारपछि भने शीर्ष स्थानबाट दोस्रो स्थानमा झर्यो । ललितपुर चार खेलमा अपराजित यात्रासँगै सर्वाधिक आठ अङक बनाएको छ । चितवन दुई जित, एक बराबरी र एक हारसहित सात अङकमा रहेको छ । ललितपुर सिटीको जितमा मणि लामा नायक बने ।
दशरथ रङगशालामा भएको खेलको तेस्रो मिनेटमै मणि लामाको फ्रिकिकमा अफ्रिकी फरवार्ड इमोह इजिकेलले हेड गरी गोल गरेका हुन् । नाइजेरियाका इजिकेल गत संस्करणमा सर्वाधिक गोल गरेर गोल्डेन बुट जित्ने स्ट्राइकर हुन् । खेलको ७५ औँ मिनेटमा भिक्टोर मानसारेको गोलले चितवनको अपराजित यात्रा कायम रहने देखियो । तर चार मिनेटपछि मणिले फ्रिकिकमा गोल गरी चितवनलाई पहिलो पराजय वेहार्न बाध्य बनाए ।