सप्तकोशीमा नुहाउँन गएका भान्जा बचाउनखाेज्दा मामासहित बेपत्ता, खोजी कार्य जारी
विराटनगर, ८ वैशाख । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीमा नुहाउने क्रममा सोमबार बिहान मामा र भान्जा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, इटहरी उपमहानगरपालिका-१६, बालग्राम निवासी ४० वर्षीय नवराज बास्तोला (मामा) र उनका १६ वर्षीय भान्जा जेनिस आचार्य नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार, बिहान करिब ८:३० बजे बराहक्षेत्र मन्दिर नजिकै भान्जा जेनिस नुहाउँदै गर्दा डुब्न थालेका थिए । उनलाई बचाउन प्रयास गर्दा मामा नवराज पनि सँगै डुबेर बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।
घटनालगत्तै सशस्त्र प्रहरी बलको पकली र इनरुवास्थित युनिटका टोली, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूले बेपत्ता भएकाहरूको खोजी कार्य सुरु गरेका छन् । खोजी कार्य हालसम्म जारी रहेको प्रहरीले जनाएको छ ।