जसपा नेत्री बबीसँग प्रहरीको बयान, भाइरल भिडिओमा देखिएको ‘पेस्तोल’ बरामद

जनकपुरधाम, १८ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दा पड्काएको भनिएको पेस्तोल प्रहरीले बरामद गरेको छ। भाइरल भिडिओमा देखिएको उक्त पेस्तोल सर्लाहीको मलंगवाबाट फेला परेको हो।

मलंगवा नगरपालिका-२ निवासी अन्जनी कुमारको घरबाट उक्त पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। सर्लाहीका प्रहरी प्रवक्ता, डीएसपी सरोज राईका अनुसार बरामद गरिएको पेस्तोल हेर्दा नक्कली जस्तो देखिए पनि अनुसन्धान जारी छ।

“हामीले त्यो पेस्तोल बरामद गरेका छौं। यो खेलौना जस्तो देखिएको छ, तर थप अनुसन्धान गरिरहेका छौं,” डीएसपी राईले भने।

पेस्तोल भेटिएको घरका धनी अन्जनी कुमारसँग पनि जिल्ला प्रहरी कार्यालय, सर्लाहीले सोधपुछ गरिरहेको छ। डीएसपी राईका अनुसार, अन्जनीले वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी रस्म (विवाह पूर्वको एक कार्यक्रम) मा डा. बबीले सोही पेस्तोल लिएर नाचेको बयान दिएका छन्।
यता, नेतृ डा. बबी सिंह यादवलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीमा बोलाएर बयान लिइएको छ। सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले डा. बबीसँग बयान लिइएको र आवश्यक कागज गराउने काम भइरहेको बताए।