भक्तपुरकाे मध्यपुरथिमिमा मल्लकालीन भैरव नाच सुरु : तान्त्रिक विधिबाट जगाइयो देवगण

भक्तपुर, १५ भदौ । मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने ऐतिहासिक एवं मल्लकालीन ‘थिमि भैलः’ अर्थात् भैरव नाच आइतबार रातिदेखि सुरु भएको छ । तन्त्रमन्त्रद्वारा मुकुन्डोमा प्राणप्रतिष्ठा गरी शरीरमा दैवी शक्ति धारण गरेर देवगणहरूले मध्यपुरथिमिका विभिन्न डबलीमा नाच प्रदर्शन गर्न थालेका हुन् ।

श्री गणेश सांस्कृतिक समाज (कुम्हाननी, तुलंननी) को आयोजनामा सुरु भएको यो आनुष्ठानिक नाच आगामी भदौ १७ गतेसम्म सञ्चालन हुनेछ । गाईजात्राको भोलिपल्ट रातिदेखि सुरु हुने यो नाचलाई धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

मल्लकालदेखि नै सुरु भएको मानिने यो नाचलाई विसं १९९७ देखि प्रजापति समुदायले संस्थागत रूपमा निरन्तरता दिँदै आएको छ । नाच अवलोकन गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ऐतिहासिक र मौलिक कला संस्कृतिको संरक्षणले थिमिको पहिचानलाई विश्वमाझ जीवित राखेको बताउनुभयो ।

नाचका गुरु गणेशमान प्रजापतिका अनुसार प्राचीन कालमा नगरमा भूतप्रेत, लाखे र पिशाचको भयबाट मुक्ति पाउन तथा नगरवासीको रक्षा एवं शान्तिका लागि यो नाच सुरु गरिएको जनविश्वास छ ।

भैरव नाचमा कुल ३२ तालमध्ये हाल प्रचलित २७ वटा तालमा देवगणहरू नाच्ने गर्दछन् । बाजाको तालमा ‘भैलः खायगु’ (भैरव जाग्ने) प्रक्रिया सुरु भएपछि देवगणहरू करिब चार घण्टासम्म उग्र रूपमा नाच्ने गर्दछन् ।
नाचमा पाँच जना मुख्य देवगणहरू रहने गर्दछन्:
१. न्हापा भैलः (चण्डिका): ठुलो मुकुन्डो र हातमा खड्ग बोकेका पहिलो भैरव ।
२. लिपा भैलः (बटुक भैरव): दोस्रो भैरव ।
३. न्हापा दागी (कुमारी): रातो वस्त्र र डमरु बोकेकी कुमारी ।
४. लिपा दागी (महालक्ष्मी): महालक्ष्मीका प्रतीक ।
५. ज्यापुंगःचा (हरिसिद्धि): साना उमेरका बालक, जसले उग्र रूप लिएका भैरव र दागीलाई शान्त पार्ने काम गर्छन् ।

यस वर्ष विज्ञान प्रजापति, रिजन प्रजापति, निराजन प्रजापति, विमल प्रजापति र विनिस प्रजापतिले देवगणका रूपमा नाच प्रस्तुत गरिरहेका छन् । नाच प्रदर्शनका लागि विभिन्न ८ जना गुरुहरूले एक महिनासम्म तान्त्रिक प्रशिक्षण दिनुभएको थियो ।

भैरव नाच आगामी भदौ १७ गतेसम्म नगरका विभिन्न डबली तथा टोलहरूमा प्रदर्शन गरिनेछ । जात्राको तेस्रो दिन गरिने ‘बाँ पूजा’ का दिन भक्तजनलाई गुह्य पूजा कोठामा प्रवेश र पूजाको अनुमति प्रदान गरिने परम्परा छ । यसअघि भदौ १० र ११ गते पूर्वअभ्यास (अखलेय् ल्हुय्केगु) गरी जात्राको तयारी पूरा गरिएको थियो ।