भोटेकोशी बाढीका मृतकको पशुपतिमा निःशुल्क दाहसंस्कार गरिने, सम्पर्कका लागि नम्बर सार्वजनिक

काठमाडौँ, १५ भदौ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको पशुपति क्षेत्रस्थित आर्यघाट र भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले विपद्को यस घडीमा मानवीय सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।
कोषका सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीका अनुसार बाढीमा परी निधन भएकाहरूको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सबै व्यवस्था मिलाइएको छ । बाढी पीडितका परिवारलाई थप पीडा र आर्थिक भार नपरोस् भन्नका लागि कोषले दाहसंस्कारको खर्च बेहोर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

कोषले निःशुल्क दाहसंस्कारका लागि आवश्यक समन्वय गर्न र जानकारी लिनका लागि सम्पर्क व्यक्तिसमेत तोकेको छ । इच्छुक परिवार वा सरोकारवालाले शरदराज वैद्यलाई मोबाइल नम्बर ९८४१२२९९९४ मा सिधै सम्पर्क गर्न सक्नेछन् ।

यस विषयमा थप जानकारी आवश्यक परेमा पशुपति क्षेत्र विकास कोषको कार्यालयमा समेत सम्पर्क गर्न सकिने कोषले जनाएको छ । “विपद्मा एक-अर्कालाई सहयोग गरी मानवता जोगाउन कोषले यो सेवा सुरु गरेको हो,” सदस्य भण्डारीले भन्नुभयो । हाल बाढी प्रभावित क्षेत्र र नदी किनारमा ठुलो सङ्ख्यामा शवहरू फेला परिरहेकाले उनीहरूको उचित व्यवस्थापनका लागि यो कदम चालिएको हो ।