रसुवागढीको सुरुङमा कोही फेला परेनन्, ड्रोन प्रयोग गरी २२५ मिटरसम्म पुग्यो टोली
रसुवा, १५ भदौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोज तथा उद्धार कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा खटिएको टोलीले सुरुङभित्र विस्तृत खोजी गर्दा कुनै पनि मानिस फेला नपरेको जानकारी दिएको छ ।
गत बुधबार आएको विनाशकारी बाढीपछि सुरुङभित्र केही कामदार वा कर्मचारी थुनिएको आशङ्का गरिएकाले सुरक्षा निकायको टोलीले अत्याधुनिक उपकरणसहित खोजी अघि बढाएको थियो ।
नेपाली सेनाका अनुसार करिब २५० मिटर लम्बाइ रहेको उक्त सुरुङको २२५ मिटरसम्म उद्धार टोली भौतिक रूपमा भित्र पुगेर खोजी गरेको थियो । बाँकी खण्डमा मानिस पुग्न कठिन भएपछि ड्रोनको प्रयोग गरी सुरुङको अन्तिम भागसम्मै सूक्ष्म रूपमा निरीक्षण गरिएको थियो । तर, सुरुङभित्र कोही पनि नभेटिएपछि उद्धार टोली कार्यक्षेत्रबाट फर्किएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसअघि भोटेकोशीको बाढीले आयोजनाका संरचनाहरूमा ठुलो क्षति पुर्याउनुका साथै सुरुङका प्रवेशद्वारहरू लेदो र ढुङ्गाले थुनिदिएको थियो । सुरुङभित्र कोही फेला नपरेपछि अब बेपत्ता रहेकाहरूको खोजी कार्यलाई अन्य सम्भावित क्षेत्र र नदीको तल्लो तटीय भेगमा केन्द्रित गरिएको सुरक्षा निकायले जनाएको छ ।