स्कटल्यान्डमा सुखद नतिजाको अपेक्षा
काठमाडौँ, बैशाख ३१ गते । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको अर्को शृङखलामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बुधवार राति स्कटल्याण्ड प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार सो टोलीलाई शुभकामनासहित विदाइ गर्यो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सबै खेलाडीलाई शुभकामना दिँदै नेपालका लागि स्कल्यान्ड भ्रमण सुखद हुने विशवास व्यक्त गरे ।
सो प्रतियोगिता अस्ट्रेलियाली प्रशिक्षक स्टुवार्ट लको पहिलो जिम्मेवारी हो । स्कटल्यान्डमा हुने प्रतियोगितामा नेपालले घरेलु टिम र नेदरल्यान्ड्ससँग दुई–दुई खेल खेल्नेछ । नेपालले स्टल्यान्डसँग जुन २ र जुन ८ तथा नेदरल्यान्ड्ससँग जुन ४ र १० तारिखमा खेल्ने कार्यक्रम रहेको छ । यसअघि, नेपालले स्कटल्यान्ड ए सँग दुई अभ्यास खेल खेल्नेछ । एकदिवसीय शृङखलापछि नेपाल स्कटल्यान्डमा अन्तर्राष्ट्रिय टि२० शृङखलामा पनि सहभागी हुनेछ ।
विदाई कार्यक्रममा प्रमुख प्रशिक्षक स्टुवार्ट ल र कप्तान रोहित पौडेल भने उपस्थित भएनन् । ल बेलायत पुगिस्क्नुभएको छ भने रोहित परिक्षाका कारण विदाई कार्यक्रममा आउन सकेनन् ।
अर्का प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्कटल्यान्डमा हुने लिग २ शृङखला नेपालका लागि धेरै महत्वपूर्ण भएको र आप्mनो टिममा क्षमता भएकोले जित्ने अपेक्षा गरे । उहाँले टिम दुई÷तीन महिनादेखि बन्द शिविरमा रहेकोले पनि फाइदा पुग्ने धारणा राखे ।
यसैगरी उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल अहिले एकदिवसीयमा अभ्यस्त रहेकोले स्कटल्यान्डमा राम्रो प्रदर्शन हुनेछ, भने । ऐरी भन्छन्– स्कटल्याण्डमा खेल्न त्यति सजिलो हुने छैन तर हामी शत प्रतिशत दिएर खेल्नेछौँ ।
नेपाली टोलीमा कप्तान रोहित र उपकप्तान दिपेन्द्रसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन्।