नेप्सेमा लगातार चौथो दिन पनि गिरावट, १३ अंकले घट्यो परिसूचक

काठमाडौँ, ३१ वैशाख। नेप्से परिसूचकमा पछिल्लो चार कारोबार दिनदेखि निरन्तर गिरावट देखिएको छ। यसै क्रममा, आज मंगलबार नेप्से परिसूचक १३.९६ अंकले घटेर २,६२०.२७ विन्दुमा कायम भएको छ।

आज कुल ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर १ लाख १२ हजार ५७७ पटक खरिदबिक्री हुँदा रु. ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार ५०५ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका समूहगत उपसूचकहरूमध्ये विकास बैंक समूह १.१९ प्रतिशत र अन्य समूह २.४६ प्रतिशतले बढेका छन् भने बाँकी सबै समूहका उपसूचक ओरालो लागेका छन्।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो, जसको रु. ५९ करोड ३२ लाख ९५ हजार आठ सय १६ बराबरको शेयर किनबेच भयो। त्यसैगरी, कारोबार भएको शेयर संख्याको आधारमा ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा रह्यो, जसको १२ लाख ९४ हजार चार सय ७१ कित्ता शेयर खरिदबिक्री भएको छ।