बाबुरामसँग एकताको सम्भावना छैन, ‘बुद्धि नभएको डाक्टर’को संज्ञा दिँदै प्रचण्डले भने- दिमाग ठाउँमा हुनुपर्‍यो

काठमाडौं, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वसहयात्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्।

रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भट्टराईप्रति कडा टिप्पणी गर्दै एकताका लागि उनको ‘दिमाग ठाउँमा हुनुपर्ने’ बताएका हुन्।

अध्यक्ष प्रचण्डले गोरखामा चुनाव लड्दा आफू, नारायणकाजी श्रेष्ठ र भट्टराईबीच चुनावपछि पार्टी एकता गर्ने समझदारी भए पनि भट्टराईले पछि ‘कम्युनिष्ट’ शब्द नै सुन्न नचाहेको आरोप लगाए। उनले भने, “बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि! गोरखामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले ल है अब चाहिँ यो चुनावमात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर, उहाँले पछि कम्युनिष्टको नाम सुन्न चाहनुहुन्न। कम्युनिष्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने? बाबुरामको लागि?”

कम्युनिष्ट पार्टीको नाम र मार्क्सवादलाई स्वीकार नगर्ने व्यक्तिसँग कसरी एकता हुन सक्छ भन्दै प्रचण्डले प्रश्न गरे। भट्टराईप्रति थप आक्रामक बन्दै प्रचण्डले भने, “उहाँ त खिइँदै खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ। प्रतिक्रियावादीले नै पत्याउँदैन आजकल। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि। कस्तो बुद्धि नभएको डाक्टर! सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?”