सभामुखद्वारा गतिरोध अन्त्यको प्रयास, गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने माओवादीको अडान

काठमाडौं, १६ जेठ । प्रतिनिधिसभाको जारी अवरोध अन्त्य गर्ने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले आज दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भने भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान पुनः दोहोर्याएको छ ।

सभामुख घिमिरेले बिहान ११ बजे विभिन्न दलका मुख्य सचेतक तथा सचेतकहरूसँग छलफल गर्नुभएको छ भने त्यसलगत्तै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो । यी बैठकहरू संसदको अवरोध हटाउने र बजेटमाथिको छलफलको कार्यसूची तय गर्ने उद्देश्यले बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

यता, आजै बिहान खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले छानबिनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्दै संसद अवरोध जारी राख्ने निर्णय गरेको छन् ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन् । जेठ १५ गते संवैधानिक बाध्यताअनुसार बजेट प्रस्तुत गर्न दिए पनि आजबाट अवरोधको कार्यक्रमलाई निरन्तरता दिने माओवादीले स्पष्ट पारेको छ ।

तर, सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरुले भने गृहमन्त्रीको राजीनामाको सम्भावना नरहेको बताउँदै आएका छन्, जसले गर्दा संसदको गतिरोध तत्काल अन्त्य हुनेमा आशंका बढेको छ ।