हुम्ला र मुगुको सङ्गमस्थल ‘दोमुख’ : पर्यटकीय सम्भावना भएर पनि पूर्वाधारको पर्खाइमा

हुम्ला, २४ जेठ । हुम्ला र मुगु जिल्लाको सिमानामा पर्ने ‘दोमुख’ क्षेत्र यतिबेला पर्यटकीय र व्यावसायिक गन्तव्यका रूपमा उदाउन थालेको छ । हुम्ला कर्णाली र मुगु कर्णाली नदीको पवित्र सङ्गमस्थलका रूपमा रहेको यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।

हुम्लाको अदानचुली गाउँपालिका–१ र मुगुको सोरु गाउँपालिका–३ को सिमानामा अवस्थित दोमुख कर्णाली करिडोरसँग जोडिएपछि यहाँ व्यापारिक गतिविधिमा तीव्रता आएको छ । तर, आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने प्रचुर सम्भावना हुँदाहुँदै पनि राज्यको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ ।

कर्णाली करिडोर सञ्चालनमा आएपछि दोमुख बजार अदानचुली गाउँपालिकाकै प्रमुख व्यापारिक हब बनेको छ । “पहिलेको तुलनामा यहाँ मानिसहरूको आवतजावत र किनमेल निकै बढेको छ,” दोमुख बजार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बुढा भन्छन्, “हुम्ला र मुगु दुवै जिल्लाका नागरिकका लागि यो पायक पर्ने व्यापारिक केन्द्र बनेको छ ।”

दोमुख केवल व्यापारिक केन्द्र मात्र होइन, यो स्थानीय समुदायको आस्थाको केन्द्र पनि हो । दुई नदीको सङ्गम भएकाले यहाँ मृत्यु संस्कार, व्रतबन्ध, गौजो काट्ने लगायतका विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यहरू हुने गर्दछन् । धार्मिक हिसाबले महत्त्वपूर्ण भए पनि यहाँ व्यवस्थित मन्दिर र घाटहरूको अभाव रहेको स्थानीय बताउँछन् ।

प्राकृतिक दृश्यावलोकनका लागि निकै आकर्षक मानिने यो क्षेत्र कर्णालीमा पाइने विभिन्न प्रजातिका माछाका लागि पनि प्रख्यात छ । नदीकिनारको मनोरम वातावरण र वरिपरिका पहाडहरूले जोकोहीलाई आकर्षित गर्छ ।

यद्यपि, यहाँ पर्यटकका लागि आवश्यक विश्रामस्थल, गुणस्तरीय होटल तथा रेष्टुरेन्ट, भ्यु-टावर र खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन । अध्यक्ष बुढाका अनुसार यदि यहाँ पर्यटकीय पूर्वाधार निर्माण र उचित प्रचारप्रसार गर्ने हो भने यसले स्थानीय अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

कर्णाली करिडोरले जोडेको यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार र प्रदेश सरकारले ठोस योजना ल्याउनुपर्ने माग स्थानीयको छ । पूर्वाधार विकास हुन सके दोमुख कर्णालीकै एक नमुना पर्यटकीय स्थल बन्ने देखिन्छ ।