गृहमन्त्रीलाई बोल्न दिन विपक्षी दल तयार
काठमाडौं, २० जेठ । सभामुख र राजनीतिक दलका प्रमुख सचेतकहरूबीच आज भएको बैठक सकारात्मक निष्कर्षसहित टुंगिएको छ।
लामो समयदेखि जारी सदनको अवरोध अन्त्य गर्ने प्रयासस्वरुप भएको उक्त छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिन सहमत भएका हुन्।
स्रोतका अनुसार, गृहमन्त्रीको जवाफ चित्तबुझ्दो भएमा विपक्षी दलहरूले दलीय आधारमा आफ्ना धारणा राख्ने र त्यसपछि सदनको कारबाही सुचारु गर्ने समझदारी बनेको छ। बैठक सकिएलगत्तै विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेको बताइएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामालाई मुख्य माग बनाउँदै विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध पार्दै आएका थिए। उनीहरूले यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने तथा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने शर्तसमेत राखेका थिए।
यसअघि गृहमन्त्रीलाई बोल्नसमेत नदिने अडानमा रहेका विपक्षी दलहरू आजको बैठकमा भने आफ्नो अडानबाट केही लचिलो बन्दै उहाँलाई बोल्न दिन तयार भएका हुन्।