संसदीय अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको कारबाही सुरु
काठमाडौँ, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निरन्तरको अवरोध र नाराबाजीका बीच प्रतिनिधिसभाको आजको बैठक अघि बढेको छ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। तर, सभामुखले बैठकको कारबाही अघि बढाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि रास्वपाका सांसदहरू थप आक्रोशित बने। लगत्तै उनीहरूले रोस्ट्रम घेराउ गर्दै नाराबाजी सुरु गरेका हुन्।
आन्दोलनरत सांसदहरूले ‘भिजिट भिसा प्रकरण’ को निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने र त्यतिन्जेल गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन्।
सदनमा नाराबाजी जारी रहँदा पनि सभामुख घिमिरेले बैठकको कारबाहीलाई अघि बढाइरहनुभएको छ।