भ्रष्टाचार विराेधी अभियन्ता प्रेमध्वजकाे अगुवाइमा स्वतन्त्र पत्रकार संघ भक्तपुरको अपिल : जातीय र धार्मिक सद्भाव कायम राखाैं

भक्तपुर, १६ साउन । भ्रष्टाचार विराेधी अभियन्ता प्रेमध्वज लामाकाे अगुवाइमा स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुरले आयाेजनामा जातीय र धार्मिक सद्भाव कायम राखाैं भन्ने नाराका साथ एक सन्देशमूलक कार्यक्रम गरेका छन् ।

लामाकाे अगुवाइमा स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुरले सुनसरीकाे देवानगञ्जमा भएकाे घटनाले देशमा अशान्ति फैलिएकाे भन्दै मुलुकमा शान्ति सुरक्षा सुनिश्चित गर्न र जातीय तथा धार्मिक सद्भाव कायम राख्न अपिल गर्दै आज एक सन्देशमूलक कार्यक्रम गरेको हाे।

भक्तपुरको कमलविनायकस्थित कमलपोखरी परिसरमा भेला भएका सञ्चारकर्मी, नागरिक समाज, र स्थानीय अभियन्ताहरूले प्लेकार्डमा लेखिएकाे “हिमाल, पहाड, तराई : कोही छैन पराई”, “जातीय र धार्मिक विविधता : हाम्रो साझा सभ्यता”, “हिंसा होइन, शान्तिको बाटो रोजौँ”, “जात होइन, मानवता ठूलो मानौँ” र “विविधतामा एकता : नेपालको विशेषता” नारासहित शान्तिकाे आह्वान गरेका थिए।

सञ्चारकर्मी, नागरिक समाज, र स्थानीय अभियन्ताहरूले पछिल्लो समय देशमा तराइका विभिन्न भागमा देखिएका जातीय तथा धार्मिक तनावप्रति चिन्ता व्यक्त गर्दै प्लेकार्डमार्फत शान्ति र सहिष्णुताको अपिल गरेका हुन्।

भ्रष्टाचार विराेधी अभियन्ता तथा सञ्चारकर्मी प्रेमध्वज मोक्तानको अगुवाइमा भएको उक्त कार्यक्रममा सञ्चारकर्मीहरूले नेपाल सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरूको साझा घर भएको उल्लेख गर्दै आपसी भाइचारा नै नेपालको मूल शक्ति भएको बताए। घृणा र विद्वेषको साटो सद्भाव र आपसी सम्मानको वातावरणले मात्र समृद्ध नेपाल सम्भव हुने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो।

उक्त कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य सुरेशप्रसाद सैंजू, सल्लाहकार कृष्ण किसी लगायत स्थानीय सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो। सञ्चारकर्मीहरूले कुनै पनि प्रकारको हिंसाले समाजको हित नगर्ने भन्दै आम नागरिक र सरोकारवालाहरूलाई संयमित रहन आग्रह गरेका छन्।