‘निम्स दाइ’ : हिमालका ती योद्धा जसले ‘असम्भव’ शब्दलाई नै चुनौती दिए

काठमाडौँ, साउन १६ । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा मात्र सीमित हुन्छन् । तर, केही त्यस्ता व्यक्तित्वहरू हुनुहुन्छ ।  जसको वास्तविक उचाइ उहाँहरूले चुमेको शिखरले मात्र होइन, उहाँहरूले सामना गर्नुभएको चुनौती र देखाउनुभएको साहसले मापन गर्दछ । विश्व पर्वतारोहणको इतिहासमा निर्मल पुर्जा अर्थात् ‘निम्स दाइ’ एउटा यस्तो उदाहरणीय नाम हो ।  जसले संसारका अग्ला हिमालहरू आरोहण मात्र गर्नुभएन, बरु संसारले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण नै बदलिदिनुभयो।

सङ्घर्षबाट सुरु भएको यात्रा

म्याग्दीको दानास्थित एउटा सामान्य परिवारमा जन्मिनुभएका पुर्जाको बाल्यकाल निकै सङ्घर्षपूर्ण थियो । बाल्यकालमा क्षयरोग र दमजस्ता स्वास्थ्य समस्यासँग जुध्नुभएका उहाँ कुनै दिन विश्वकै कठिन हिमालहरू आरोहण गरेर इतिहास रच्ने व्यक्ति बन्नुहोला भन्ने सायदै कसैले कल्पना गरेका थिए ।

गाउँको सामान्य जीवनबाट सुरु भएको उहाँको यात्रा बेलायती गोर्खा सैनिकसम्म पुग्यो । सन् २००३ मा बेलायती सैनिकका रूपमा भर्ती हुनुभएका उहाँ त्यहाँ पनि साधारण सैनिकमा मात्र सीमित रहनुभएन। उहाँले कठिन छनोट प्रक्रिया पार गर्दै बेलायतको प्रतिष्ठित ‘स्पेसल बोट सर्भिस’ (SBS) मा प्रवेश पाउने पहिलो गोर्खा सैनिक बनेर कीर्तिमान कायम गर्नुभयो । सैन्य जीवनले उहाँलाई अनुशासन, नेतृत्व र ‘असम्भवलाई कसरी सम्भव बनाउने’ भन्ने सीपका साथै बलियो आत्मविश्वास प्रदान गर्‍यो।

‘प्रोजेक्ट पोसिबल’ : विश्वलाई चकित तुल्याउने अठोट

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पहिलो यात्राले उहाँको सोचमा ठुलो परिवर्तन ल्यायो । हिमाललाई आफ्नो क्षमता परीक्षण गर्ने प्रयोगशाला मान्नुभएका उहाँले सन् २०१८ मा बेलायती सैनिकबाट राजीनामा दिएर पूर्णकालीन आरोहणमा लाग्ने निर्णय गर्नुभयो ।

उहाँले सन् २०१९ मा ‘प्रोजेक्ट पोसिबल’ अभियानको घोषणा गर्नुभयो, जुन धेरैका लागि एउटा अव्यावाहरिक सपनाजस्तै थियो । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ७ महिनाभित्र आरोहण गर्ने उहाँको लक्ष्यलाई धेरै अनुभवी आरोहीहरूले समेत असम्भव भनेका थिए । आर्थिक अभावका बीच उहाँले आफ्नै घर धितो राखेर यस अभियानलाई अगाडि बढाउनुभयो । अन्ततः उहाँले मात्र ६ महिना ६ दिनमा ती सबै हिमाल आरोहण गरेर विश्व पर्वतारोहणको इतिहासमा नयाँ अध्याय लेख्नुभयो ।

नेपाली पहिचान र सामूहिक भावना

निम्स दाइको आरोहण यात्राको सबैभन्दा सुन्दर पक्ष भनेको नेपाली पर्वतारोहीको पहिचान बदल्ने उहाँको अथक प्रयास हो । उहाँले सधैँ भन्नुभयो, “हिमालको सफलता केवल शिखरमा पुग्ने व्यक्तिको होइन, सम्पूर्ण टोलीको सामूहिक उपलब्धि हो ।”

यसको ज्वलन्त उदाहरण सन् २०२१ को हिउँदमा गरिएको ‘के-टु’ हिमालको ऐतिहासिक आरोहण हो। विश्वका कसैले पनि जाडोयाममा चढ्न नसकेको सो हिमालको शिखरमा पुग्नै लाग्दा उहाँले आफ्नो व्यक्तिगत सफलताभन्दा राष्ट्रिय गौरवलाई माथि राख्नुभयो। उहाँकै नेतृत्वमा १० जना नेपाली आरोहीहरू एकै ठाउँमा भेला भएर, नेपालको राष्ट्रिय गान गाउँदै एकसाथ शिखरमा पाइला टेक्नुभएको थियो। यो दृश्यले विश्वभरका नेपालीहरूको शिर गर्वले ऊँचो बनायो ।

सामाजिक उत्तरदायित्व र मानवीयता

आफ्नो साहसिक यात्राका साथै उहाँले मानवीय सेवालाई पनि उत्तिकै प्राथमिकता दिनुभएको छ । सन् २०१९ मा सगरमाथामा खिच्नुभएको ‘ट्राफिक जाम’ को तस्बिरले हिमाल व्यवस्थापनबारे विश्वव्यापी बहस सुरु गरायो । त्यस्तै, नेटफ्लिक्सको चर्चित वृत्तचित्र ‘फोर्टिन पिक्स’ मार्फत उहाँले नेपालको हिमाल र नेपालीको साहसलाई संसारको कुनाकुनासम्म पुर्‍याउनुभयो ।

उहाँले ‘निम्स दाइ फाउन्डेसन’ स्थापना गरी हिमाली समुदायको शिक्षा, वातावरण र विपद् व्यवस्थापनमा योगदान दिँदै आउनुभएको छ। हालै मात्र उहाँले सोलुखुम्बुको लोबुचेमा ६ करोड रुपैयाँभन्दा बढीको लागतमा भरियाहरूका लागि सुविधासम्पन्न ‘पोर्टर हाउस’ निर्माण गरिदिनुभएको छ। हिमालमा भारी बोक्ने भरियाहरूले आश्रय नपाएर भोग्नुपर्ने समस्या महसुस गरी उहाँले यो परोपकारी कार्य गर्नुभएको हो ।

निर्मल पुर्जा ‘निम्स दाइ’ आज केवल एक कीर्तिमानी आरोही मात्र हुनुहुन्न, उहाँ त नेपाली पर्वतारोहणको नयाँ आत्मविश्वास र नेतृत्वको प्रतीक बन्नुभएको छ। उहाँको जीवनले हामीलाई एउटै महत्त्वपूर्ण सन्देश दिएको छ, “यदि मनमा साहस र दृढ इच्छाशक्ति छ भने संसारमा कुनै पनि कुरा असम्भव छैन।” उहाँको यो यात्रा र अठोट आगामी पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ ।