वीरगञ्जमा जनजीवन सामान्य बन्दै, निषेधाज्ञा पूर्ण रूपमा हटाइयो
वीरगञ्ज (पर्सा), १६ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा आजदेखि पूर्ण रूपमा हटाएको छ । केही दिनदेखि अशान्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै गएपछि प्रशासनले निषेधाज्ञा फिर्ता लिने निर्णय गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, गत साउन १४ गतेदेखि दैनिक साँझ ५ बजेदेखि बिहान ६ बजेसम्मका लागि लगाइएको निषेधाज्ञा आजदेखि अन्त्य गरिएको छ । पछिल्ला दिनहरूमा प्रदर्शन, जुलुस तथा हुलदङ्गाका गतिविधिहरू मत्थर हुँदै गएकाले सुरक्षा स्थितिको समीक्षा गरी उक्त निर्णय लिइएको उहाँले जानकारी दिनुभयो ।
सिरहाको गोलबजारमा भएको घटनाका सम्बन्धमा पीडित पक्ष र सरकारबीच आठबुँदे सहमति भएपछि आन्दोलनरत पक्षहरू शान्त भएका हुन्। सहमतिसँगै मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको र हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घसंस्थाहरूले आफ्ना विरोधका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेका छन् ।
आन्दोलन र निषेधाज्ञा हटेसँगै वीरगञ्ज तथा यस आसपासका क्षेत्रको जनजीवन पुनः सामान्य लयमा फर्किएको छ। केही दिनदेखि ठप्प रहेका बजार, उद्योगधन्दा, शैक्षिक संस्था र यातायात सेवा सुचारु भएका छन् । प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद दिँदै सामाजिक सद्भाव कायम राख्न समेत अपिल गरेको छ ।