ललितपुर मालपोतका ३ कर्मचारी र २ लेखनदास ३ लाख घुससहित रङ्गेहात पक्राउ

काठमाडौँ, १६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन जना कर्मचारी र दुई जना लेखापढी व्यवसायी (लेखनदास) लाई तीन लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको छ।

आयोगको टोलीले ललितपुर महानगरपालिका वडा नं. ४ स्थित एक होटलबाट उनीहरूलाई घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने कर्मचारीहरूमा मालपोत कार्यालयका नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर रहेका छन्। यस्तै, उनीहरूसँगै मिलेमतोमा संलग्न रहेको अभियोगमा लेखापढी व्यवसायी (लेखनदास)द्वय शैलेन्द्र रानामगर र समिर कटवाललाई पनि पक्राउ गरिएको छ।

अख्तियारका अनुसार उनीहरूले जग्गाको बकसपत्र गरिदिने प्रयोजनका लागि सेवाग्राहीलाई विभिन्न बहानामा दु:ख हैरानी दिई घुस माग गरेका थिए। सेवाग्राहीबाट तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा आयोगको टोलीले उनीहरूलाई समातेको थियो। खानतलासीका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको थप २४ हजार ८९० रुपैयाँ समेत बरामद भएको आयोगले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान र कानुनी कारबाहीका लागि आयोगको केन्द्रीय कार्यालय टङ्गाल लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *