अविरल वर्षाले सिन्धुपाल्चोकमा पहिरो, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौं, ३ असार । सोमबार रातिदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेकोशी गाउँपालिकाको वडा नं. २ को कोदारी र कोप्लाङ तथा वडा नं. ३ को लार्चामा पहिरो गएको हो। पहिरोसँगै खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध बनाएको छ।
राजमार्ग बन्द हुँदा चीनसँगको तातोपानी नाका जोड्ने सडक सञ्जाल टुटेको छ भने सयौँ सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन्। सडक खुलाउने प्रयास भइरहे पनि वर्षा जारी रहँदा कठिनाइ भएको प्रहरीले जनाएको छ।