प्रमुख प्रशासकीय अधिकृतलाई ‘बाइपास’ गर्न खोज्दा असफल भए बालेन, बजेट समितिको बैठक रद्द

काठमाडौँ , ४ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृतलाई पन्छाएर बजेटसम्बन्धी महत्त्वपूर्ण बैठक बोलाउने प्रयास असफल भएको छ।

समितिका सदस्य-सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई जानकारी नै नदिई आजका लागि डाकिएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’को बैठक रद्द हुन पुगेको हो।

मेयर साहले प्रशासनका कर्मचारीलाई प्रस्ताव तयार गर्न लगाएर आज बिहान ११ बजेका लागि बैठक डाकेका थिए। तर, समितिका सदस्यहरूले सदस्य-सचिवको अनुपस्थितिमा बैठकको वैधानिकतामाथि प्रश्न उठाएपछि मेयर साह पछि हट्न बाध्य भएका हुन्।

समितिकी सदस्य अनिता कार्की (ढोली)ले मेयरको सचिवालयबाटै बैठक बस्ने र पछि रद्द भएको सूचना आएको पुष्टि गरिन्। उता, प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले बैठकबारे आफूलाई कुनै जानकारी नभएको बताए।

स्थानीय तहले असार १० गतेभित्र बजेट पेस गर्नुपर्ने कानुनी बाध्यता छ। तर, बजेट निर्माणको पहिलो खुड्किलो मानिने समितिको बैठक नै बस्न नसक्दा महानगरको आगामी आर्थिक वर्षको बजेट प्रक्रियामा गम्भीर अन्योल सिर्जना भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *