अरुणमान जोशीले दिए एन्फाको सहायक महासचिवबाट राजीनामा

काठमाडौँ, ११ असार । थ्रिस्टार क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)को सहायक महासचिव पदबाट राजीनामा दिएका छन् ।

एन्फा अपिल कमिटीले हालै थ्री स्टार क्लबलाई ‘बी’ डिभिजनमा झार्ने निर्णय गरेपछि त्यसमा आपत्ति जनाउँदै जोशीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नाममा पत्र लेखेर राजीनामा दिएका हुन् ।

दुई वर्षअघि सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा थ्रिस्टारले जावलाखेल युथ क्लबलाई १–० ले हराएर रेलिगेसन टारेको थियो । तर सोही नतिजाले रेलिगेशनमा परेको एपिएफ फुटबल क्लबले उक्त खेलमा थ्री स्टारले भिसा सकिइसकेका दुई विदेशी खेलाडी खेलाएको भन्दै उजुरी दिएको थियो । एपीएफको सोही उजुरीलाई एन्फा अपिल कमिटीले सही ठम्याउँदै थ्रिस्टारले अवैधानिक खेलाडी खेलाएकोले ३–० ले पराजित भएको निर्णय दियो र थ्रिस्टार बी डिभिजनमा झ्र्यो ।

सो उजुरीमा एन्फाको अनुशासन कमिटीले केही महिनाअघि थ्रीस्टारले अवैधानिक खेलाडी खेलाएका भन्दै क्लब र सम्बन्धित खेलाडलाई नगद जरिवाना मात्र गरेको थियो । सो निर्णयमा असहमति जनाउादै थ्रिस्टार र एपीएफले अपिल गरेका हुन् ।