उद्योगमा लोडसेडिङ घटेपछि सिमेन्ट र डन्डीको मूल्य सस्तियाे
काठमाडौं, १५ असार। घर निर्माण गर्ने योजनामा रहेकाहरूका लागि खुसीको खबर छ। उद्योगमा लोडसेडिङ घट्दा उद्योगीहरूले सिमेन्ट र डन्डी जस्ता प्रमुख निर्माण सामग्रीको मूल्य घटाएका छन्।
बर्खायाममा निर्माण कार्य सुस्त भएसँगै मागमा आएको कमी र उद्योगहरूमा लोडसेडिङ घट्दा उत्पादन लागत कम भएकाले मूल्य समायोजन गरिएको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार, सिमेन्टको मूल्य प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म घटेको छ भने डन्डीको मूल्य प्रतिकिलोग्राम ५ रुपैयाँसम्म सस्तिएको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उद्योगमा लोडसेडिङ घट्दा उत्पादन लागत कम भएको र माग पनि घटेकाले मूल्य घट्नु स्वाभाविक भएको बताउनुभयो।
यसअघि, उद्योगीहरूले १२ घण्टासम्मको लोडसेडिङका कारण उत्पादन लागत बढेको भन्दै मूल्य बढाएका थिए। त्यसबेला ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ८०० रुपैयाँसम्म पुगेको थियो।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार, हाल ओपीसी सिमेन्ट प्रतिबोरा ६०० देखि ७०० रुपैयाँमा झरेको छ। त्यस्तै, प्रतिकिलो ९६ रुपैयाँ पुगेको डन्डीको मूल्य घटेर ८२ देखि ८५ रुपैयाँको बीचमा आइपुगेको छ।