सिरहामा यसवर्ष आँप उत्पादनमा भारी गिरावट, किसान निराश
सिरहा, १६ असार । आँप उत्पादनका लागि प्रख्यात सिरहा जिल्लामा यस वर्ष उत्पादनमा भारी गिरावट आएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार गत वर्षको तुलनामा यो वर्ष आँप उत्पादन करिब ४० प्रतिशतले घटेको हो ।
गत वर्ष जिल्लाभर ९९ हजार २ सय ३५ मेट्रिक टन आँप फलेकोमा यस वर्ष उत्पादन घटेर ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ । केन्द्रका अनुसार, यस वर्ष प्रति हेक्टर उत्पादन दर पनि उल्लेख्य रूपमा घटेको छ । अघिल्लो वर्ष प्रति हेक्टर ११.०२ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष जम्मा ६.६३ मेट्रिक टन मात्रै उत्पादन भयो ।
केन्द्रका सूचना अधिकारी किरण विश्वकर्माले उत्पादन घट्नुमा विभिन्न कारणहरू रहेको बताउनुभयो । उहाँका अनुसार, एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने आँपको प्राकृतिक चक्र (अल्टरनेट बेयरिङ) यसको प्रमुख कारण हो । यसका साथै, सिँचाइको अपर्याप्तता, कीराको प्रकोप र समयमा बोटबिरुवाको उचित स्याहारसुसार तथा औषधि उपचार नहुनुले पनि उत्पादनमा प्रत्यक्ष असर पारेको हो ।
आँप उत्पादनमा आएको कमीले स्थानीय बजारमा प्रत्यक्ष प्रभाव पारेको छ । बजारमा आँपको आपूर्ति घटेसँगै मूल्यमा सामान्य वृद्धि भएको छ । तर, उत्पादन लागतअनुसारको प्रतिफल नपाउँदा अधिकांश किसानहरू निराश बनेका छन् । यसले स्थानीय व्यापारी तथा फलफूलमा आधारित प्रशोधन उद्योगहरूलाई समेत असर पुगेको छ ।
विज्ञहरूले आँप उत्पादनको दिगो विकासका लागि सरकारी तथा स्थानीय तहबाट ठोस नीति ल्याउनुपर्ने सुझाएका छन् । किसानलाई उत्पादनमा प्रोत्साहन गर्न अनुदानको व्यवस्था गर्ने र उत्पादित आँपको भण्डारणका लागि चिस्यान केन्द्र (कोल्ड स्टोर) स्थापना गरेमा किसानको मनोबल बढ्ने र जिल्लाको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने उनीहरूको विश्वास छ ।