उपभोक्ता ऐनको विरोधमा चिकित्सक आन्दोलित, देशभर आकस्मिकबाहेकका सेवा ठप्प
काठमाडौँ, २४ असार। नेपाल चिकित्सक सङ्घको आह्वानमा देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आजबाट आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेका छन्।
उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाप्रति आपत्ति जनाउँदै सङ्घले अनिश्चितकालीन आन्दोलन घोषणा गरेको हो।
सरकारी अस्पताल, निजी अस्पताल तथा क्लिनिकहरूले समेत सङ्घको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आकस्मिक र सघन उपचार (आईसीयू) बाहेकका सम्पूर्ण सेवाहरू बहिष्कार गरेका छन्।
उपचारमा हुने लापरबाहीजस्ता विषय उपभोक्ता अदालतले हेर्न थालेपछि चिकित्सकहरूले आपत्ति जनाएका हुन्। हालै उपभोक्ता अदालतले केही अस्पताललाई बिरामीको उपचारमा लापरबाही गरेको भन्दै क्षतिपूर्ति तिराउने फैसला गरेपछि यो विवाद चर्किएको हो।
सङ्घका महासचिव डा. सञ्जीव तिवारीका अनुसार, “उपभोक्ता संरक्षण ऐनले स्वास्थ्य सेवालाई अन्य वस्तु वा सेवा सरह राखेको छ, जुन गलत हो। चिकित्सकीय अभ्यासको नियमन गर्ने अधिकार नेपाल मेडिकल काउन्सिललाई मात्र हुनुपर्छ।”
सङ्घले उपभोक्ता ऐनअनुसार कारबाही हुन थालेमा चिकित्सकहरूले आफूलाई कानुनी झन्झटबाट बचाउन अनावश्यक परीक्षणहरू गराउन सक्ने चेतावनी दिएको छ। यसले बिरामीको उपचार खर्च बढाउने, चिकित्सकको मनोबल घटाउने र जटिल केसहरूमा बिरामीलाई अन्यत्र ‘रिफर’ गर्ने प्रवृत्ति बढ्ने सङ्घको दाबी छ।
आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहने सङ्घले जनाएको छ। यसै क्रममा आज काठमाडौँको माइतीघर मण्डलासहित देशभरका विभिन्न स्थानमा धर्ना कार्यक्रम पनि आयोजना गरिएको छ।