काभ्रेकाे बनेपाबाट  बोधिचित्त चोरी, तीन युवा पक्राउ

काभ्रेपलाञ्चाेक, २७ असार । बनेपामा एक घरको कम्पाउन्डबाट लाखौं मूल्यको बोधिचित्त चोरी गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार बनेपा नगरपालिका-१०, रेशम मार्ग निवासी भवानी पाण्डेको घरमा रहेको रुखबाट बोधिचित्तको दाना चोरेको आरोपमा १९ वर्षीय विवेक लामा, २० वर्षीय मिलन मोक्तान र १९ वर्षीय लबाङ तामाङलाई पक्राउ गरिएको हो।

शनिबार राति करिब १:२० बजे पाण्डेको घरमा प्रवेश गरी उनीहरूले बोधिचित्त टिपेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आइतबार पाण्डेले चोरी भएको उजुरी इलाका प्रहरी कार्यालय, बनेपामा दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

इलाका प्रहरी कार्यालय, बनेपाका डीएसपी रामेश्वर त्वातीका अनुसार, घरमा जडान गरिएको सीसीटीभी फुटेजको आधारमा चोरहरूको पहिचान गरी पक्राउ गरिएको हो। “सीसीटीभी फुटेजमा राति तीन जना आएर दाना टिपेको स्पष्ट देखिन्छ,” डीएसपी त्वातीले भने, “सोही फुटेजको आधारमा हामीले उनीहरूलाई पक्राउ गर्न सफल भयौं।”

पीडितले आफ्नो करिब ८ लाख रुपैयाँ बराबरको बोधिचित्त चोरी भएको दाबी गरेका छन्। पक्राउ परेका युवाहरूबाट चोरी भएको बोधिचित्त भने बरामद हुन सकेको छैन। उनीहरूले प्रहरीसँगको प्रारम्भिक सोधपुछमा उक्त बोधिचित्त काठमाडौं लगेर बेचिसकेको बयान दिएका छन्। प्रहरीले उनीहरूले कसलाई र कहाँ बेचे भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

साथै, उनीहरूको आपराधिक पृष्ठभूमि र अन्य चोरीका घटनामा संलग्नता भए/नभएको बारे पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।