प्रतिनिधिसभाकाे बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
काठमाडौँ, ३० असार । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। आजको बैठकमा सरकारले विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू सदनमा पेस गर्ने र महत्वपूर्ण अन्तर्राष्ट्रिय श्रम महासन्धिहरू अनुमोदनका लागि प्रक्रिया अघि बढाउने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले तीनवटा महत्वपूर्ण प्रतिवेदनहरू सदनसमक्ष पेस गर्नुहुनेछ। जसमा ‘न्याय परिषद्’ र ‘न्याय सेवा आयोग’ को आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदनका साथै ‘लोक सेवा आयोग’ को ६६औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) रहेका छन्। यी प्रतिवेदनहरूमाथि आगामी बैठकहरूमा विस्तृत छलफल हुनेछ।
आजको बैठकमा नेपालको श्रम बजार र अन्तर्राष्ट्रिय प्रतिबद्धताका दृष्टिले महत्वपूर्ण दुईवटा प्रस्तावहरूमाथि छलफल र अनुमोदनको प्रक्रिया अघि बढाइनेछ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले महासन्धिहरू अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।