ट्रम्पको घोषणाले विश्व बजारमा तरंग: युरोपेली संघ र मेक्सिकोमाथि ३०% कर, व्यापार युद्धको खतरा

एजेन्सी, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू) र मेक्सिकोबाट आयात हुने वस्तुहरूमा ३० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेसँगै विश्वव्यापी व्यापार युद्धको चिन्ता बढेको छ। आगामी अगस्ट १ देखि लागू हुने यो निर्णयको विश्वभरबाट कडा प्रतिक्रिया आएको छ।

एक पत्रमार्फत ट्रम्पले ईयूसँग अमेरिकाको व्यापार सम्बन्धमा लामो समयदेखिको घाटा, विभेदकारी कर नीति र व्यापारिक अवरोधका कारण यो कदम चाल्नुपरेको बताएका छन्। उनले सम्बन्ध ‘पारस्परिक’ नभएको आरोप लगाउँदै यदि ईयू वा मेक्सिकोले प्रतिशोधात्मक कदम चालेमा शुल्क थप बढाउने चेतावनीसमेत दिएका छन्।

यो निर्णय ईयू र मेक्सिकोमा मात्र सीमित छैन। ट्रम्पले जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलजस्ता प्रमुख व्यापारिक साझेदारहरूमाथि पनि अगस्ट १ देखि नै नयाँ शुल्क लगाउने घोषणा गरेका छन्, जसले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा नै असर पार्ने देखिएको छ।

युरोपको कडा प्रतिक्रिया, वार्ता र प्रतिउत्तरको तयारी
ट्रम्पको घोषणापछि युरोपेली संघले वार्ताका लागि तयार रहेको तर आफ्नो हितको रक्षा गर्न पछि नहट्ने सन्देश दिएको छ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले अगस्ट १ अघि नै वासिङ्टनसँग सम्झौतामा पुग्ने आशा व्यक्त गरेकी छन्। यद्यपि, उनले आवश्यक परेमा “समानुपातिक प्रतिउत्तर” दिन ईयू तयार रहेको स्पष्ट पारेकी छन्।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले ट्रम्पको घोषणाप्रति “कडा असहमति” जनाउँदै सम्झौता नभएमा “विश्वसनीय जवाफी कारबाही” को तयारी तीव्र पार्न आग्रह गरेका छन्। त्यस्तै इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले व्यापार युद्ध सुरु गर्नुको कुनै अर्थ नभएको भन्दै “निष्पक्ष सम्झौता” मा पुग्न सकिने विश्वास व्यक्त गरेकी छन्।

जर्मनीका जर्मनीको अटोमोबाइल उद्योग संघले यस निर्णयले जर्मन कार निर्माताहरूको लागत बढ्ने र व्यापार द्वन्द्व थप चर्किने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ। ट्रम्पको यो एकपक्षीय कदमले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच तनाव बढाएको छ र यसले विश्वव्यापी आर्थिक स्थिरतामाथि नै प्रश्न खडा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *