हर्मुज जलडमरूमध्य खोल्ने इरानको पछिल्लो प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य (Strait of Hormuz) पुनः खोल्ने इरानको पछिल्लो प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई ‘अस्वीकार्य’ भनेका छन्।

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले हर्मुज जलडमरूमध्य खोल्न र दुई देशबीच पुनः वार्ता थाल्नका लागि अमेरिका समक्ष नयाँ प्रस्ताव पेस गरेको घोषणा गरेको केही समयपछि नै ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो।

“मैले उनीहरूको प्रस्ताव अस्वीकार गरेको छु,” ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भने, “उनीहरू युद्धमा पछाडि परिरहेका कारण तुरुन्तै यो जलडमरूमध्य खोल्ने सम्झौता गर्न चाहन्छन्। मलाई पनि सम्झौता गर्न मन पर्छ, तर उनीहरूले राखेको यो सम्झौता स्वीकार्य हुन सक्दैन।”

इरानको शर्त र सात दिने समयसीमा

यसअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा इरानी विदेशमन्त्री अराघ्चीले अमेरिकाले शर्तहरू स्वीकार गरेमा सात दिनभित्र हर्मुज जलडमरूमध्यमा नियमित व्यापारिक जहाज आवागमन सुचारु गर्न सकिने बताएका थिए।

इरानले शर्तका रूपमा आफ्ना रोक्का गरिएका सम्पत्ति फुकुवा, तेल बिक्रीमा लगाइएका प्रतिबन्धहरू हटाउने र लेबनानसहितका क्षेत्रमा सैन्य कारबाही रोक्नुपर्ने माग राखेको छ। यी शर्तहरू गत जुन महिनामा दुई देशबीच हस्ताक्षर भएको तर पछि रद्द भएको ‘सहमति पत्र’ (MOU) मा आधारित रहेको अराघ्चीको भनाइ थियो।

“तपाईं कुनै देशमा बमबारी गर्ने, त्यसलाई नष्ट गर्ने धम्की दिने, समुद्री नाकाबन्दी लगाउने र अनि स्वतः सुरक्षा र जलमार्ग खुला हुने अपेक्षा गर्न सक्नुहुन्न,” अराघ्चीले भनेका थिए, “अब निर्णय अमेरिकाको हातमा छ।”

अमेरिकी अडान: “हामीलाई हतार छैन”

इरानी प्रस्तावबारे ह्वाइट हाउसका एक अधिकारीले मध्यस्थकर्ताहरूमार्फत सकारात्मक र रचनात्मक छलफल भइरहेको बताए पनि अमेरिका हतारमा नरहेको स्पष्ट पारेका छन्। “हर्मुज जलडमरूमध्यमा नियन्त्रणसहित अमेरिका यतिखेर निकै बलियो स्थितिमा छ, त्यसैले हामीलाई कुनै हतार छैन,” ती अधिकारीले भने।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इरानसँग सम्झौता हुन धेरै समय र कडा परिश्रम लाग्ने सङ्केत गरेका छन्।

यसैबीच, ‘द वाल स्ट्रिट जर्नल’ले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पले आफ्ना कर्मचारीहरूलाई आगामी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध पुनः बमबारी अभियान सुरु हुन सक्ने बताएको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *