अमेरिकासँग वार्ताको ढोका खुला राख्दै इरान, होर्मुज खोल्न सर्त अघि सार्‍यो

काठमाडौं, ११ असोज । मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासबीच होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा इरान आफ्ना सर्तबाट पछि नहट्ने अडानमा कायम रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामसम्बन्धी प्रस्ताव अस्वीकार गरे पनि इरानले आफ्ना माग पूरा भएपछि मात्र जलडमरूमध्य खोल्ने जनाएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघ्चीका अनुसार इरानले लेबनानसहित मध्यपूर्वमा जारी सबै सैन्य गतिविधि अन्त्य गर्नुपर्ने र यसअघि असफल भएको युद्धविराम सम्झौताका सर्त कार्यान्वयन गर्नुपर्ने माग राखेको छ।

उक्त सम्झौतामा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउने तथा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नेलगायत विषय समावेश रहेको इरानी पक्षको भनाइ छ।

अराघ्चीले इरानका सर्त स्पष्ट रहेको भन्दै ती पूरा भएपछि होर्मुज जलडमरूमध्य खोल्ने प्रक्रिया अघि बढ्ने बताउनुभएको छ। उहाँले इरान कूटनीति र वार्ताबाट पछि नहटेको, तर आफ्ना अधिकारबाट पनि पछि नहट्ने बताउनुभयो।

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार युद्धविरामसम्बन्धी प्रस्ताव अस्वीकार गरेको बताउनुभएको थियो। उहाँका अनुसार होर्मुज तत्काल खोल्नुपर्ने दबाबका कारण इरान सम्झौता गर्न चाहेको हो।

तर, अराघ्चीका अनुसार ट्रम्पको प्रारम्भिक प्रतिक्रियाबारे इरान जानकार भए पनि मध्यस्थकर्तामार्फत अमेरिकाको औपचारिक धारणा भने प्राप्त भएको छैन। मध्यस्थकर्ताबाट अन्तिम धारणा आएपछि त्यसका आधारमा निर्णय गरिने उहाँले बताउनुभएको छ।

इरानले आवश्यक सर्त पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोलेर सामान्य समुद्री आवतजावत सुरु गर्न सकिने दाबी गरेको छ। अराघ्चीका अनुसार इरानले कतारमार्फत अमेरिकासमक्ष सात दिनको ठोस योजना पनि प्रस्तुत गरेको छ।

इरानले सुरक्षा र सार्वभौमिकताको कारण देखाउँदै होर्मुजबाट आवतजावत गर्ने पानीजहाजले अनुमति लिनुपर्ने बताउँदै आएको छ। अनुमति पालना नगर्ने पानीजहाजमाथि कारबाही हुँदै आएको तथा त्यसको जवाफमा अमेरिकाले पनि इरानी तटीय क्षेत्रमा हवाई आक्रमण गर्दै आएको इरानी पक्षको भनाइ छ।

यसैबीच, संयुक्त राष्ट्रसंघमा साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानले होर्मुज र बाब अल–मन्दबसहित महत्वपूर्ण जलमार्ग खुला राख्न अन्तर्राष्ट्रिय समुदायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ। उहाँले यस्ता जलमार्गलाई दबाब वा धम्की दिने माध्यम बनाउन नहुने धारणा राख्नुभयो।

रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पनि रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रमा स्थायित्व कायम गर्न अन्य जिम्मेवार राष्ट्रसँग मिलेर रचनात्मक योगदान गर्न आफ्नो देश तयार रहेको बताउनुभएको छ।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उहाँले इरान वार्ताबाट पछि नहटेको तर विगतका अनुभवका कारण अमेरिकामाथि विश्वास गर्न कठिन रहेको बताउनुभयो।

इरानी क्रान्तिकारी रक्षक दलका प्रवक्ता होसेन मोहेबीले इरानका सातवटै सर्त पूरा नभएसम्म अमेरिकाविरुद्धको कारबाही नरोकिने बताउनुभएको छ। उहाँका अनुसार यमनमा जारी सैन्य गतिविधि अन्त्य गर्नु पनि तेहरानको मागमध्ये एक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *