होर्मुज जलडमरुमध्यमा असर पुगेपछि इरानले व्यापार उत्तरतर्फ कास्पियन सागरतिर मोड्दै

तेहरान, इरान । इरानका दक्षिणी बन्दरगाहहरूमा अमेरिकाले नौसैनिक नाकाबन्दी लगाएपछि तेहरानले तेल निर्यात तथा वस्तु आयातका लागि वैकल्पिक मार्ग खोज्दै आएको छ। इरानको उत्तरी तटमा रहेको कास्पियन सागरलाई बाह्य संसारसँग जोड्ने एउटा प्रमुख प्रवेशद्वारका रूपमा हेरिएको छ।

इरान र अमेरिकाबीचको गतिरोध अन्त्य गर्न संयुक्त राष्ट्रसंघमा भएका हालैका प्रयासहरू असफल देखिएका छन्, किनभने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरुमध्य पुनः खोल्ने तेहरानको प्रस्तावलाई अस्वीकार्य भनेका छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्ध अन्त्य हुने कुनै संकेत नदेखिएको अवस्थामा तेहरानले तेल निर्यात र आवश्यक वस्तु आयातका लागि थप समायोजन गर्दै आएको छ। तर विशेषज्ञहरूका अनुसार कास्पियन सागरमार्फतको समुद्री व्यापारमा आफ्नै खालका लजिस्टिक चुनौती छन्।

कास्पियन सागरका चुनौतीहरू

विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित जलाशय मानिने कास्पियन सागर इरान, रुस, अजरबैजान, कजाकिस्तान र तुर्कमेनिस्तानले साझा गर्छन्। विगत केही वर्षयता यस सागरमा पानीको सतह घट्दै गएकाले जलपोत सञ्चालनमा बढ्दो समस्या देखिएको छ।

अप्रिलमा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) की कार्यकारी निर्देशक इंगर एन्डरसनले सन् १९९० को दशकयता कास्पियन सागरको जलस्तर करिब २ मिटर (६.६ फिट) ले घटेको बताएकी थिइन्। यस शताब्दीको अन्त्यसम्म जलस्तर थप ८ देखि २१ मिटर (२६ देखि ६९ फिट) सम्म घट्ने प्रक्षेपण गरिएको छ।

इरानको वातावरण विभाग अन्तर्गतको तटीय तथा सामुद्रिक पारिस्थितिकी प्रणाली संरक्षण कार्यालयका महानिर्देशक शहराम फदाकरले गत साता स्थानीय सञ्चारमाध्यमलाई विगत दुई-तीन वर्षमा वार्षिक २० सेन्टिमिटर (७.९ इन्च) भन्दा बढी दरमा जलस्तर घट्दै गएको बताएका थिए, जसले कास्पियन क्षेत्रका सबै मुलुकबीचको व्यापारमा असर पार्न सक्छ।

बन्दरगाहको क्षमतामा गिरावट

इरानको ढुवानी संघका महासचिव मसुद पोल्मेहले यस महिना राज्यसम्बद्ध सञ्चारमाध्यमलाई इरानका उत्तरी बन्दरगाहले पहिले ६ हजार टनसम्मको जहाज थेग्न सक्थे, तर जलस्तर घटेपछि हाल ४ हजार टनसम्मका जहाज मात्र थेग्न सक्ने बताएका छन्।

रुसको भोल्गा नदीहुँदै कास्पियन सागर प्रवेश गर्ने इरानी जहाजहरू न्यून जलस्तरका कारण फस्ने गरेका छन्, कहिलेकाहीँ दिनौं वा हप्तौंसम्म एकै ठाउँमा रोकिएपछि मात्र चालकदल उद्धार गरिने गरेको छ। “सौभाग्यवश, हाम्रा बन्दरगाहमा भने त्यस्तो भएको छैन,” पोल्मेहले थपे।

उत्तरतर्फ बढ्दो सामरिक ध्यान

इरानको अधिकांश समुद्री व्यापार परम्परागत रूपमा दक्षिणी बन्दरगाहमार्फत हुँदै आएको छ। तर अमेरिकी नौसैनिक नाकाबन्दी र पूर्वाधारमाथिको हवाई आक्रमणले तेहरानलाई व्यापार कास्पियन सागर र स्थल सीमातर्फ सार्न बाध्य पारेको छ।

रुस, मध्य एसिया र काकेशसविषयक स्वतन्त्र लेखक तथा अनुसन्धाता भाली कालेजीका अनुसार उत्तरी क्षेत्रमा हाल कुनै सक्रिय सैन्य आक्रमण नभए पनि लजिस्टिक सञ्चालनमा आएको परिवर्तनले इरानको स्थल सीमामा ठूलो दबाब सिर्जना गरेको छ।

आर्मेनियासँगको नोर्दुज सीमा नाकामा एकैपटक १८०० सम्म ट्रक इरान प्रवेशका लागि कैयौं दिन लाइन बसेको पाइन्छ। अन्य नाकाहरूमा प्रवेशका लागि १० देखि १५ दिनसम्म पर्खनुपर्ने अवस्था छ, यद्यपि कालेजीका अनुसार यो समस्या केवल स्थल मार्गमा भार बढेकैले मात्र होइन।

“सीमित टर्मिनल क्षमता, भन्सार प्रक्रिया, सडक पूर्वाधार र निर्माणाधीन आयोजनाहरूले पनि यस्तो चापमा योगदान पुर्‍याएका छन्। साथै, इरानी विमान कम्पनीमाथिको प्रतिबन्धका कारण यात्रुहरू आर्मेनिया र टर्कीसँगका स्थल सीमातर्फ मोडिँदा नाकाहरूमा समस्या थप बढेको छ,” कालेजीले अलजजिरालाई बताए।

पूर्वी कास्पियन रेल मार्गले इरानी मालसामानलाई तुर्कमेनिस्तान, कजाकिस्तान र चीनसम्म पुर्‍याउने जडान प्रदान गर्छ। तर सन् १९८८ देखि १९९४ सम्म चलेको पहिलो नागोर्नो-काराबाख युद्धका क्रममा विच्छेद भएको इरानको दक्षिण काकेशससँगको रेल जडान अझै बन्द रहेको छ।

“सोभियत कालको दक्षिण काकेशस रेल सञ्जालको हिस्सा रहेको जुल्फा-नाख्चिभान रेल मार्गको पुनरुद्धार आर्मेनिया र अजरबैजानबीचको शान्ति प्रक्रिया, विशेषतः अमेरिकाले समर्थन गरेको ट्रिप्प (TRIPP) पारवहन करिडोर आयोजनाको कार्यान्वयनमा निर्भर रहेको छ,” कालेजीले भने। “उत्तर-दक्षिण यातायात करिडोरको पश्चिमी मार्गको ठूलो हिस्सा यही मार्गबाट हुने भएकाले इरान र दक्षिण काकेशसबीच रेल जडानको अभाव, विशेषतः दक्षिणमा समुद्री नाकाबन्दी चर्किएको अवस्थामा, व्यापार तथा पारवहनको गति र परिमाण बढाउने प्रयासमा ठूलो बाधा बनिरहेको छ।”

व्यापारमा देखिएका बाधाहरू

इरानी अधिकारीहरूले अन्जली, अमिराबाद र नोशहरजस्ता कास्पियन बन्दरगाहमा कुन वस्तु कति परिमाणमा मोडिएको हो भन्ने विस्तृत विवरण दिएका छैनन्। तर खासगरी खाद्यजस्ता आवश्यक वस्तुको आयातमा यस्तो परिवर्तन देखिएको संकेत भने पाइएको छ।

बन्दरगाह तथा समुद्री संगठनका प्रमुख मोहम्मद शाकिबी-नसाबले गत महिना राज्यसम्बद्ध सञ्चारमाध्यमलाई इरानको कुल नाममात्र बन्दरगाह क्षमता ३० करोड टन रहेकोमा जम्मा ३ करोड टन मात्र उत्तरी बन्दरगाहसँग सम्बन्धित रहेको बताएका थिए।

आवश्यक वस्तु ढुवानीमा उत्तरी बन्दरगाहको हिस्सा अमेरिका-इजरायल युद्धअघिको १८ प्रतिशतबाट बढेर हाल ३० प्रतिशत पुगेको छ। उनका अनुसार इरानका उत्तरी र दक्षिणी बन्दरगाहमा ओहोरदोहोर गर्ने जहाजको अधिकतम भारवहन क्षमतामा ठूलो भिन्नता छ—दक्षिणको एउटा जहाजले बोक्ने मालसामान कास्पियन सागरमा चल्ने २० वटा जहाजले बराबरी गर्न सक्छ।

सेप्टेम्बरको सुरुवातमा उत्तरी प्रान्त गिलानका गभर्नर हादी हाघशेनासले इरानी पात्रो अनुसार अगस्ट २२ सम्मको पाँच महिनामा कास्पियन बन्दरगाहमा कन्टेनर आगमन विगत वर्षको दाँजोमा ५० प्रतिशतले बढेको बताएका छन्।

उनका अनुसार दक्षिणी इरानको शहीद राजाई बन्दरगाहको तुलनामा उत्तरी बन्दरगाहहरू तेहरान, इस्फहान र अराकजस्ता मध्य इरानका प्रमुख शहरहरूसँग नजिक रहेकाले आयातित सामानको अन्तिम उपभोक्तासम्म पुर्‍याउँदा स्थल ढुवानी लागत घट्न सक्छ।

चीनबाट कजाकिस्तानहुँदै अक्ताउसम्म रेलमार्ग, त्यसपछि जहाजमार्फत कास्पियन बन्दरगाहसम्म र त्यसपछि सडकमार्गबाट इरानभित्र मालसामान ल्याउने चीन-अक्ताउ-उत्तरी इरान मार्गले क्षेत्रीय व्यापार विस्तार गर्न सक्ने हाघशेनासले थपे।

इरान सरकारले रुससँगको रणनीतिक महत्त्वको आयोजना रश्त-अस्तारा रेलमार्गको बाँकी खण्ड पूरा गर्ने प्रयास गरिरहेको छ, जसले इरान, अजरबैजान र रुसहुँदै जाने अन्तर्राष्ट्रिय उत्तर-दक्षिण यातायात करिडोरको पश्चिमी रेल शाखा पूरा गर्नेछ।

रुसमाथिको बढ्दो निर्भरता

तेहरानको उत्तरतर्फको यो सामरिक परिवर्तनले रुसमाथिको अत्यधिक व्यापारिक निर्भरता र युक्रेनविरुद्धको युद्धसँगै मस्कोमाथि लागेको प्रतिबन्धको जोखिम बेहोर्नुपर्ने खतरा बढाएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार रुसले कास्पियन सागरमार्फत इरानलाई ड्रोन उपकरण र विस्फोटक पदार्थ पठाएको प्रतिवेदन आएको छ। रुसबाट हस्तान्तरण भएको केही प्रविधिले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न सहयोग पुर्‍याउन खोजिएको दाबी समेत गरिएको छ। इरान र रुसका अधिकारीहरूले सैन्य सहयोग विस्तार गर्न चाहेको बताए पनि यी हालैका प्रतिवेदनहरूबारे प्रतिक्रिया दिएका छैनन्।

अमेरिका-इजरायली आक्रमणले इरानको कास्पियन क्षेत्रलाई अपेक्षाकृत कम लक्षित गरे पनि जुलाईमा युक्रेनले तेहरानले “इरानी माछामार जहाज” भनेको एउटा जहाजमाथि आक्रमण गरी एक नागरिकको ज्यान लिएको थियो। युक्रेनले भने त्यो जहाज इरानतर्फ सैन्य सामान लैजाँदै गरेको रुसी सैन्य जहाज रहेको दाबी गरेको थियो।

रुस र इरान दुवै प्रतिबन्धित र युद्धरत मुलुक भएकाले कास्पियन मार्गमार्फतको दुई देशबीचको व्यापार थप जटिल बन्न सक्ने देखिन्छ।

बुर्स एन्ड बजार फाउन्डेसनका विश्लेषक इजाना टेड्लाले अलजजिरासँग भन्दै, “रुसी पूर्वाधारसँगको एकीकरणले थप अवरोधको समस्या ल्याउँछ किनभने त्यो युक्रेनको लक्ष्यमा परिरहेको छ, जसमा नागरिक व्यापारीहरू पनि पर्छन्।”

“वर्तमान पूर्वाधारबाहेक, दक्षिणी मार्गहरूमा विशेषतः युएईमा रहेको इरानी समुदाय र व्यक्तिगत सञ्जालले पनि इरानको व्यापारलाई सहज बनाइरहेको छ,” उनले थपे।

दक्षिणी बन्दरगाहमार्फतको आयात लगभग अवरुद्ध भएको अवस्थामा अधिकारीहरूले जौ, मकै, गहुँ र तेलहन बीउलाई उत्तरी बन्दरगाहबाट ल्याइने प्राथमिकतामा राखेको बताएका छन्।

टेड्लाका अनुसार इरानको उत्तरतर्फ जाने अधिकांश निर्यात प्रशोधित खाद्य पदार्थ र प्याकेजिङ सामग्रीजस्ता हल्का वस्तु हुन्। इरानसँग कास्पियनमार्फत आयात उल्लेख्य रूपमा बढाउन सक्ने बन्दरगाह पूर्वाधार र जहाजी बेडा छैन।

विगतका वर्षमा उत्तरतर्फको निर्यात हिस्सामा सामान्य वृद्धि भए पनि सन् २०२३ यता यो प्रवृत्ति स्थिर बनेको छ। “इरानको मूल्यवान निर्यात दक्षिणतर्फ मोडिएको छ, जुन खनिज इन्धन, तेल र फलामजस्ता ठूला परिमाणका वस्तु हुन्, जसलाई सजिलै विदेशी मुद्रामा परिणत गर्न सकिन्छ,” टेड्लाले भने।

“अन्त्यमा, बन्दरगाह पूर्वाधार विस्तार गरिए पनि त्यसका लागि बजार उपलब्ध हुन्छ भन्ने निश्चित छैन, किनभने इरानका उत्तरी छिमेकी मुलुकहरूको आफ्नै हाइड्रोकार्बन र धातु उद्योग रहेको छ, जुन इरानकै उत्पादनसँग प्रतिस्पर्धा गर्नेछ,” उनले थपे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *