एमालेकाे विधान प्रस्ताव अनुमोदन गरिँदै, पोलिटब्युरो बैठक १ बजेलाई सर्‍यो

काठमाडौं, २ साउन । नेकपा एमालेले बिहान ११ बजेका लागि बोलाइएको पोलिटब्युरो बैठक दिउँसाे १ बजेका लागि सारिएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहीबार राति सम्पन्न सचिवालयको ४९ औँ बैठक लम्बिएका कारण आजको बैठकको समय सारिएको केन्द्रीय कार्यालय स्रोतले जनाएकाे हाे ।

बिहीबारको बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरेको थियो । उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा बिहीबार छलफल हुँदा ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भएको थियो ।

पोलिटब्युरो बैठकमा पुनः ती विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने, नदिनेबारे बिहीबार नै विषय प्रवेश भएको भन्दै गौतमले पोलिटब्युरोमा पनि त्यसबारे चर्चा हुनसक्ने बताए ।